Logo

नेपाल बार चुप लागेर बस्ने स्थिति छैन : घिमिरे



काठमाडौं, १८ वैशाख । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालतमा तत्काल प्रधानन्यायाधीश नियुक्ति र न्यायपालिका सुधारको माग राखी शान्तिपूर्ण आन्दोलन थालेको बताएका छन् ।
‘यो आन्दोलन एकै दिनमा सुरु भएको होइन । पूर्वप्रधानन्यायाधीशविरुद्ध संसदमा महाभियोग भएकाले हामी १४ महिनासम्म न्यायपालिकाको नेतृत्वका लागि पर्खिएका थियौं । यसबीचमा हामीले प्रधानमन्त्री र सभामुखलाई भेटेर अल्टिमेटम दियौं । प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक राखे पनि निर्णय हुन सकेन । संसद्बाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि अघि नबढेपछि हामी झस्कियौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
बार अध्यक्ष घिमिरेले संवैधानिक परिषद् र न्यायपरिषद्ले आफ्नो काम नगर्ने अनि संसदीय सुनुवाइ समिति पनि नबन्ने स्थितिमा चुप लागेर बस्ने स्थिति नभएको पनि औंल्याए । न्यायपालिकाले संवैधानिक व्यवस्था अनुसार नेतृत्व पाउनुपर्ने बारको माग छ । उनले थपे, ‘सर्वोच्च अदालतले १४ महिनादेखि प्रधानन्यायाधीश नपाउँदा न्यायपालिकाको शाख गुमेको छ । सर्वोच्चमा ५ जना, उच्च अदालत ५० जनाभन्दा बढी र जिल्लामा ३० जना न्यायाधीश नियुक्ति हुन नसक्दा सेवाग्राहीले न्याय नपाउने अवस्था आयो । त्यसैले हिजो ९० वटा एकाइमध्ये ६० वटामा शान्तिपूर्ण प्रदर्शन भयो ।’
न्यायपालिकामा विद्यमान भ्रष्टाचार, विकृति र बिचौलियातन्त्र विरुद्ध पनि आन्दोलन लक्षित रहेको घिमिरेको दाबी छ । उनले भने, ‘एक हप्ता प्लेकार्डसहित धर्ना बस्छौं । आन्दोलनका थप कार्यक्रम बार कार्यसमितिको बैठक राखेर तय गर्छौं । तर बार बौद्धिक संस्था भएकाले यसले ढुंगामुढा गर्दैन । आन्दोलन शान्तिपूर्ण नै हुन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्