हुम्ला, २६ वैशाख । हुम्लामा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ/नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शिविर आयोजना गरिएको हो ।
नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम आर्थिक सहयोग र एनआरसिएस सुर्खेत आँखा अस्पतालका प्राविधिक डा मनिष खतिवडा नेतृत्वको नौ जनाको टोलीले सदरमुकाम सिमकोटमा सञ्चालित शिविरमा सेवा प्रदान गरेको थियो । यही वैशाख २२ गतेदेखि सुरु भएको निःशुल्क शिविर सोमबार सम्पन्न भएको छ ।
उक्त शिविरबाट सिमीकोट, खार्पुनाथ, नाम्खा गाउँपालिलगायतका दुई सय ४७ जनाले सेवा लिएका थिए । उक्त शिविरमा ७४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति सङ्घ, सुर्खेतका प्रशासन अधिकृत निशा बमले जानकारी दिए ।
जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो
हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । यहाँ दैनिक रुघा खोकी, ज्वरो, कपाल दुख्ने, घाँटी सुनिनेलगायत रोगका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन् ।
अस्पतालमा प्रतिदिन ५० देखि ७० जनाको उपचार भइरहेको स्वास्थ्य सहायक धनसिंह भण्डारीले जानकारी दिए । जिल्ला अस्पतालमा दम, निमेनियाका समेत बिरामी उपचार गर्न आउन थालेका उनले बताए । मौसम परिवर्तनका कारण बालबालिका तथा बूढापाका बढीजसो बिरामी हुन थालेका बताइएको छ । रासस