काठमाडौं, जेठ १० । “उखुको बक्यौता रकम लिएर जान्छौँ या ज्यान त्यागेर जान्छौँ,” यो पीडायुक्त भनाइ सात दिनदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएका उखु किसान रामलाल कलवार र तुलसीराम छिदीको हो ।
नौ वर्षदेखि बाँकी रहेको रकमका लागि पटक पटक आन्दोलन गरेँ तर कुनै सुनुवाइ भएन अनि काठमाडौँसम्म आउन बाध्य भएको उनले बताए ।
“यसअघि पनि तीन पटकसम्म माइतीघर मण्डलामा आन्दोलन गरिसकेका थियौँ, सरकारबाट आश्वासन लिएर घर फर्केका थियौँ तर आश्वासन अनुसार रकम नपाएपछि पुनः काठमाडौँ आएका छौँ,” कलवारले भने, “हामीले घरपरिवारलाई उखुको पैसा लिएर मात्र काठमाडौँबाट फर्किन्छौँ भनेर आएका छौँ । उद्योगीले पैसा दिएनन् भने हामी कुन मुख लिएर गाउँ जाने ?”
महालक्ष्मी सुगर मिल्स कपिलवस्तुबाट सर्लाही सरिसकेको छ तर उखु किसानको बक्यौता रकम दिएको छैन । कपिलवस्तुका किसानले करिब ११ करोड रुपैयाँ लिन बाँकी रहेको छ । त्यसमा अढाई करोड रुपैयाँ अनुदान रकम रहेको छ तर उद्योगीले विभिन्न बहानामा सो रकम दिन नचाहेको उनले गुनासो गरे ।
“अहिले त्यो मिल कपिलवस्तुमा छैन, त्यहाँबाट सर्लाही सरेको नौ वर्षभन्दा बढी भइसक्यो तर उद्योगीले रकम दिन मानेको छैन, यस पटक रकम नलिइकन घर फर्कंदैनौँ,” उनले भने, “मेरो मात्र डेढ लाख रुपियाँ लिन बाँकी छ । हामी साना किसानका लागि त्यो रकम धेरै हो, त्यो नपाएसम्म काठमाडौँबाट फर्कंदैनौँ ।”
आन्दोलनको नेतृत्व गरेको कपिलवस्तु किसान सङ्घका संयोजक अनुप चौधरीले उखु किसानलाई सरकारले फुलबल जस्तो प्रयोग गरेको गुनासो गरे । उनले भने, “कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाललाई भेट्दा यो उद्योग मन्त्रालयसँग सम्बन्धित हो भनी उता पठाइदिनुभयो । उद्योगमन्त्री रमेश रिजाललाई भेट्दा उनले यो कृषि मन्त्रालयसँग सम्बन्धित विषय हो भनी त्यता पठाइदिए, हामीलाई सिंहदरबारमा फुटबल जस्तै यताबाट उता कुदाइरहेका छन् ।”
अर्थ मन्त्रालयले किसानको बक्यौता रकम उद्योगीले जसरी पनि दिनुपर्छ, यो निर्णय भइसकेको छ, अनुदान रकम पनि ती उद्योगीले लगिसकेका छन् भनेर पन्छिरहेको छ तर उद्योगीले आफूहरूले सरकारबाट अनुदान रकम नपाएका कारण रकम दिन नसकिने भनिरहेको उनले बताए । गोरखापत्र दैनिकबाट