काठमाडौं, १८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा वाणिज्य क्षेत्रमा उल्लेखनीय सहमति हुने बताएका छन् ।
‘यस पटकको भ्रमणमा ऊर्जा, वाणिज्य र कृषिको क्षेत्रमा महत्त्वपूर्ण सहमति हुँदै छन् । वाणिज्यतर्फ दोधारा–चाँदनीको सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी, नेपालगन्जको उद्घाटन, भैरहवाको शिलान्यास, सिलगुडी–चारआली, अमलेखगन्ज–लोथर पाइपलाइन र टर्मिनल ट्यांक पनि परेका छन्,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
मन्त्री रिजालले ऊर्जामा धेरै सम्भावना भएकाले दुवै मुलुकको प्राथमिकता ऊर्जामा परेको पनि बताए । उनले भने, ‘ऊर्जामा प्रशस्त सम्भावना छ । नेपालको विद्युत्को बजार भारत र बंगलादेश नै हो । अब त्यो वातावरण बनाउनुपर्छ भनेर लागेका छौं ।’ यसपटक तल्लो अरुण जलविद्युत्को लगानीका लागि भारत सरकारसँग कुराकानी हुने पनि उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमाको विषयमा पनि कुराकानी गर्ने मन्त्री रिजालको दाबी छ । उनले भने, ‘छिमेकी बदल्न सकिँदैन । निकट मुलुकसँग अलिअलि समस्याका बाबजुद पनि सम्बन्ध राम्रो बनाउनुपर्छ । विद्यमान सीमा विवाद पनि भारत र नेपालको कूटनीतिक तवरमा हल गर्दै जानुपर्छ । यसबारेमा सहमति र सम्झौता नभए पनि प्रधानमन्त्रीले मोदीसँग आफ्ना कुरा कुराकानी राख्नुहुन्छ । सकेसम्म भारतलाई कन्भिन्स गर्नुपर्छ ।’
प्रधानमन्त्री भारत आउने दिन नै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुमा भारतको दबाब त होइन भनी पत्रकार धमलाले राखेको जिज्ञासामा उनले भने,’ नागरिकता विधेयक नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिन ल्याइएको हो । यसमा भारत किन दबाब दिनुपर् यो ? मन्त्रिपरिषद्ले चार–पाँच दिन अघि नै राष्ट्रपति कार्यालयमा पठाएको थियो । संयोगले प्रधानमन्त्री भारत आउने दिन नै पर् यो ।’