Logo

भाजपा नेतालाई धमलाको प्रश्न : भारतमा चिनियाँ लगानी छैन र ?



काठमाडौं, १८ जेठ । भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. विजय जोलीले नेपाल र भारतबीचका तमाम समस्या आपसी समझदारीबाट छिटै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
‘नेपाल र भारत छिमेकी मुलुक हुन् । दुई देशका बीचमा रोटीबेटीको सम्बन्ध छ । हामीबीच हिन्दुत्वको सम्बन्ध पनि छ । नेपालमा ९० प्रतिशत जनता र भारतमा ८८ प्रतिशत हिन्दु छन् । विजय जोलीलाई देख्दा नेपालीजस्तो लाग्छ, ऋषि धमलालाई देख्दा भारतीयजस्तो लाग्छ । यस्तो खालको सांस्कृतिक सम्बन्ध समस्या वा विवादको हिस्सा बन्न सक्दैन । नेपाललाई हरतरहले सघाउन भारत तयार छ । एकै परिवारका भाइहरुबीच पनि समस्या हुन सक्छ । तर त्यो सधैंभरि रहँदैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. जोलीले भने ।
नेपालका हरेक समस्यामा भारतले सहयोग गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएकामा उनले आपत्ति जनाए । डा. जोलीले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध प्रगाढता आइरहेका बेला मधेसी आन्दोलन भयो । मधेसी भाइ र बहिनीलाई भेदभाव हुँदा केही गतिरोध भयो । भूकम्प आउँदा भारतले तत्कालै डाक्टर, दबाईको व्यवस्था गरिदियो । कोरोना आउँदा सय करोडको अस्पताल बनाइदियो । भ्याक्सिन दियो । तैपनि नेपालमा तुच्छ राजनीति गरेर मोदीको पुत्ला जलाउँछन् । त्यसले मेरो दिलमा कति दर्द भयो होला ? भुटानमा पनि सहयोग गरेको छ, तर भारतको प्रधानमन्त्रीको पुत्ला जल्दैन त ।’
तेस्रो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले दुई देश बीचको सम्बन्धमा नयाँ अध्याय बन्ने पनि डा. जोलीले बताए । उनले भने, ‘भारत वसुधैव कुटुम्बकम्मा विश्वास गर्छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको अनेकपल्ट भ्रमण गर्नुभएको छ । जलविद्युत्, शिक्षा, यातायात र स्वास्थ्य भारतको योगदान छ । अब आर्थिक एजेन्डामा सहकार्य गर्न पनि तयार छ । सधैं आपसमा वादविवाद, लडाइँ–झगडा मात्र गर्ने हो भने विकास कसरी हुन्छ ?’
उनले भारतको सहयोग लिने अनि चीनको सहयोगमा एयरपोर्ट बनाउनु उचित नभएको पनि बताए । डा. जोलीले भने, ‘तपाईंहरु सहयोग भारतको लिनुहुन्छ तर एयरपोर्ट चीनसँग बनाउनुहुन्छ ।’ भारतमा चीनको लगानी छैन र भन्ने धमलाको प्रश्नमा उनले थपे, ‘यसलाई हामीबीचको प्यारको कमी नमानौं ।’



प्रतिक्रिया दिनुहोस्