Logo

नेपाल आमा पार्टी र नेपाल सुशासन पाटीबीच एकता हुने, सबै देशभक्त शक्तिलाई एकै ठाउँमा उभिन अपिल (भिडिओसहित)



काठमाडौं, ३० जेठ । नेपाल सुशासन पार्टी र नेपाल आमा पार्टीबीच निकट भविष्यमै पार्टी एकता हुने भएको छ । आज (मंगलबार) दुई दलले रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गरी निकट भविष्यमै पार्टी एकताको हुन लागेको बताएका हुन् । पार्टी एकताका लागि वार्ता अन्तिम चरणमा पुगेको र निकट भविष्यमै नेपाली राजनीतिको वैकल्पिक शक्तिका रूपमा उदाउने बताइएको छ ।

उक्त वैकल्पिक राजनैतिक शक्ति निर्माणमा सहभागी हुन देशभक्त राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा र स्वतन्त्र नागरिकलाईसमेत आह्वान गरिएको छ । ‘निर्वाचन आयोगमा दल दर्ता नं. १८ को नेपाल आमा पार्टी र दल दर्ता नं. १७७ को नेपाल सुशासन पार्टी निकट भविष्यमै एकीकरण हुने र यस सम्वन्धमा वार्ता अन्तिम चरणमा पुगेको घोषणा गर्न र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आह्वान गर्न हामी उपस्थित भएका छौं,’– नेपाल आमा पार्टीका महासचिव विश्वनाथ गौतम र नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यी दूई पार्टी गत २०७९ मंसिर ४ को आम निर्वाचनमा पनि बच्चा काखमा लिएकी आमा चुनाव चिन्ह लिएर चुनाव चिन्ह लिएर संयुक्त रुपमा चुनावी अभियानमा सहभागी भएका थिए । नयाँ राजनीतिक शक्तिका रुपमा उदायका दलहरु पनि यथास्थितिमा रमाएको उनीहरुको आरोप छ । पदलोलुप प्रवृत्तिले राष्ट्रको भलो नगर्ने उनीहरुको ठम्याईँ छ ।

नेपाल आमा पार्टीका महासचिव गौतमले राजनीतिका एकाधिकार जमाइरहेका ठूला दलहरुले एक्लैएक्लै चुनाव लड्न नसकेर संगठित रुपमा पार्टीहरुसँग तालमेल गरको आरोप लगाए । यसरी ठूला दलहरुले तालमेल गरेर चुनावमा सहभागी हुँदा नैतिवान, इमानदार र देशभक्त साना दलहरु राजनीतिमा उदाउन नपाएको उनको दाबी छ । समाजमा जन्मिने राजनीतिको गन्तव्य पनि समाज नै हुनुपर्ने उनको भनाई छ । अहिले राजनीति रूपान्तरण भएपनि समाज रूपान्तरण हुन नसकेको उनको दाबी छ ।

‘राजनीति समाजमा जन्मिने हो । त्यसको गन्तव्य पनि समाज नै हुनुपर्छ । समाज परिवर्तण र रूपान्तरित हुनुपर्छ । भएन, राजनीतिक रूपान्तरण भयो । तर, समाज रूपान्तरण भएन,’– उनले भने ।

महासचिव गौतमले आफूहरु राष्ट्रवाद, स्वाधीनता, राष्ट्रियता र सुशासनजस्ता विषयलाई लिएर अगाडि बढिरहेको दाबी गरे । अहिलेको पुराना राजनीतिक दल फन्ड र फण्डामा चलेकोे गौतमको आरोप छ । दुई पार्टीबीच एकीकरणको मूल उद्देश्य राजनीति सिद्धान्तको आधारमा चल्नुपर्छ र आफ्नो मौलिकताको आधारमा चल्नुपर्छ भन्ने रहेको उनको भनाई छ ।

नेपाल सुशासन पार्टीका केन्द्रीय सदस्य वसन्त तिवारीले नेपालमा विपी कोइराला र मदन भण्डारीपछि नेता नै नजन्मिएको दाबी गरे । आफूहरु देशको सेवा गर्ने लिडरको खोजीमा रहेकाले यस एकता अभियानमा जोडिन सबै देशभक्त शक्तिहरुसमक्ष आग्रह गरे ।

भ्रष्टाचारविरुद्धका अभियन्ता सिद्धार्थ अधिकारीले राष्ट्रवादी चिन्तन भएका र राष्ट्रलाई माया गर्ने व्यक्तिहरु एक ठाउँमा उभिनु अहिलेको आवश्यकता भएको बताए । राष्ट्रको निकासका लागि मार्ग प्रशस्त गराउने थुप्रै कोशिस गरेको स्मरण गराउँदै उनले देशलाई फिजीकरण र सिक्किमीकरण गर्न खोज्नेहरुलाई आगामी दिनमा भोट नदिन सबैसमक्ष आग्रह गरे ।

‘यो देशलाई जसले फिजीकरण र सिक्किमीकरण गर्न खोजिरहेका छन्, तिनीहरुलाईमात्रै भोट दिन्छौं हामी । तिनीहरुलाईमात्रै खोजी–खोजी हिँड्छौं । यो हाम्रो बिडम्बनाको कुरा हो ।’ उनले भने, ‘अब केही समयपछि नेपाल फिजीकरण अथवा सिक्किमीकरण गराउनका निमित्त यहाँका नेताहरु र ठूला दलका व्यक्तिहरु लागिरहेका छन् । हाम्रा प्राकृतिक स्रोत साधान, उद्योग धन्दाहरु बेच्ने काम गरिरहेका छन् ।’

नेताहरुले विदेशीको दलाली गरेर आफ्नो स्वार्थसिद्ध गर्ने काम गरेको उनको आरोप छ । साना दलहरु र सामाजिक अभियन्ताहरु एकजुट हुन नसकेको फाइदा उठाउँदै ठूला दलहरुले देशको प्राकृतिक स्रोत र साधनमाथि दोहन गरिरहेको उनले बताए । नेपाललाई बचाउनका लागि सबै देशभक्तहरु एकजुट भएर वैकल्पिक शक्ति निर्माणको विकल्प नभएको उनको भनाई छ ।

नेपाल सुशासान पार्टीका महासचिव गोविन्द गिरीले पार्टी एकताको मूल ध्यये राष्ट्रियता, सुशासन, समृद्धि र नेपालवाद रहेको बताए । नेपाल सुशासन पार्टी र नेपाल आमा पार्टीले एक ठाउँमा उभिने निर्णय गरिसकेको र निकट भविष्यमै पार्टी एकीकरण हुने उनले बताए ।

आफूहरु गत आम निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर सहभागी भएको स्मरण गर्दै उनले भने– ‘हामीले बच्चा काखमा लिएकी आमा चुनाव चिन्ह लिएर चुनाव लडेका थियौं । सोचेजस्तो नभएपनि मत राम्रो आएको थियो । अहिले किन पार्टी एकीकरण गर्नुपर्यो ? किन वैकल्पिक शक्ति निर्माण गर्नुपर्यो भन्ने जिज्ञासा हुनु स्वभाविक हो । हाम्रो मूल ध्येय राष्ट्रियता, सुशासन, समृद्धि र नेपालवाद हो ।’

अहिले देशमा कुशासनको चरम अवस्था रहेको उनको ठम्याँई छ । देशमा प्रकृतिले दिएको सम्पदा प्रयोग, संरक्षण र संवर्धन गर्न नसकेसम्म देश विकास नहुने उनले बताए । नेपालवादको ध्येय पनि प्राकृतिक स्रोत, साधनको संरक्षण, प्रयोग र संवद्र्धन भएको उनको दाबी छ । नेपालमा भएका जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको उचित प्रयोग र व्यवस्थापन भएको खण्डमा देश समृद्ध हुन समय नलाग्ने उनले बताए ।

नेपालवादले प्रकृतिसँगै जात, जाति, भाषा, संस्कृति संरक्षणको कुरासमेत गर्ने उनको दाबी छ । रेमिट्यन्सको भरमामात्रै अबको नेपाल चल्न नसक्ने र देश समृद्ध नहुने उनको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा नेपालको हित, सीमा सुरक्षाको विषयमा केही बोल्न नसकेको उनले आरोप लगाए । भारतको संसद्मा नेपालको भूमि समेटिएको नक्सा राखिँदासमेत प्रधानमन्त्री मौन बसेको उनको आरोप छ । सदनमा पनि राष्ट्रियता जस्ता महत्वपूर्ण विषयमा कुरा नउठेर दैनिक भैंसी र राँगाको कुरा उठेको भन्दै उनले आपत्ति जनाए ।

‘भारत भ्रमणमा प्रधानमन्त्री ज्यू जानुभयो । विभिन्न ठाउँमा नेपालमो सीमाना मिचिएको छ । ती समस्याहरु उहाँले बोल्न सक्नुभएन । भारतको संसद्मा नेपालको भूभाग समेटिएको नक्सा राखिएको छ, त्यसको बारेमा उहाँले बोल्नै सक्नु भएन । यो सदनमा भैंसी र राँगाकोमात्रै कुरा गर्ने कि नक्साको पनि कुरा हुन्छ ?’– उनले प्रश्न गरे ।

हिजोका राजनीतिक दलबाट धेरै आशा नगरेको बताउँदै उनले नयाँ भनिएका दलहरुपनि पुरानै दलको शैलीमा अगाडि बढेको उनले आरोप लगाए । ग्रेटर नेपालको नक्सा नेपालको संसद्, बालुवाटार र सबै सरकारी कार्यालयहरुमा राख्न आवश्यक रहेको उनले बताए । यस विषयमा आफूहरुले सडकबाट निरन्तर दवाब दिइरहने उनको भनाई छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई ढाकछोप गराउन नक्कली लडाकु प्रकरण, जहाज, ललिता निवास प्रकरण र जलहरी प्रकरण ल्याइएको उनको आरोप छ । ‘बा’ हरुले भर्खरभर्खर प्रेममा परेका प्रेमीको जस्तो भेटघाट गरेर नक्कली शरणार्थी प्रकरणलाई कमजोर बनाएको उनको आरोप छ ।

नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीले राज्यको दोहन गर्नेहरुबाट यो राज्यलाई छुटाकारा दिलाउने अभियानमा लागेको बताए । उनले सबै नेपाली युवाहरुलाई यस अभियानमा जोडिनसमेत आह्वान गरे । नेपाललाई जोगाउनका लागि देशभक्त शक्तिहरु जुट्नुको विकल्प नरहेको उनले बताए ।

नेपालीले सुनको थालमा भिख मागेर खाइरहेको उनको टिप्पणी छ । नेपालीमाझ विकराल रुपमा रहेको भोक र रोगको निवारणका लागि हामीलाई प्रकृतिले दिएको साधन र स्रोतको उचित पहिचान गरी उत्पादनम्ुखी कार्यमा लाग्नुपर्ने उनले बताए । आफूहरु अहिले सोही अभियानमा उभिएको उनको दाबी छ ।

अब विद्यार्थीलाई उत्पादन सेना र भान्छालाई औषधालयको रुपमा विकसित गर्नुको विकल्प नरहेको उनले बताए । हाम्रो देशको शिक्षालेसमेत उत्पादनलाई विशेष जोड दिन आवश्यक रहेको उनको जोड छ । जनताको आधारभूत आवश्यकताको परिपूर्तिका लागि राज्य पनि त्यत्तिकै गम्भीर हुन आवश्यक रहेको उनको भनाई छ । नेपाल उर्जामा समेत आत्मनिर्भर बन्न सक्ने र त्यसका लागि राज्यले आवश्यक समन्वय र नयाँ सोच विकास गर्न सक्नुपर्ने उनको भनाई छ । शिक्षा, उत्पादन र उर्जालाई विशेष जोड दिन नसकेसम्म नेपालवादको सपना पुरा नहुने उनको भनाई छ ।

‘खास गरेर भोक र रोग निवारणका निम्ति हाम्रो चिजहरु के छन् ? त्यसलाई कसरी परिचालन गर्ने ? विश्वमा पत्ता लागेका नयाँ प्रविधी ल्याएर उत्पादनमुखी कार्ययोजनाबाट हामी यहाँबाट बाँच्न सक्ने अवस्था सिर्जना गर्नका लागि हामी प्रतिबद्ध छौं,’– उनले भने ।

अब फण्डाको राजनीति छोडेर सिर्जनात्मकता र सकारात्मकताको राजनीतिको सुरुवात गर्ने बेला आएको उनले बताए । भ्रष्टाचारी र कुशासनको विरुद्धमा अब सिर्जनात्मक र सकारात्मक बन्न आवश्यक रहेको उनले बताए ।

नेपाल सुशासन पार्टीका उपाध्यक्ष तुलराज बस्याल अहिलेका शासकहरुले वैधानिक ढंगले राणाहरुले भन्दा पनि बढी राष्ट्रको ढुकुटी लुटिरहेको आरोप लगाएका छन् । अहिलेको नेताहरु नितान्त स्वार्थपरक भएका कारण देश दलदलमा फसेको उनको दाबी छ । देश भावी पुस्ताका लागि पनि सुरक्षित राख्नका लागि आफूहरु एकजुट हुने तयारीमा रहेको उनले बताए ।

अहिलेको शासकहरु जनताप्रति बेसरोकार रहेको उनले बताए । देशमा राष्ट्रियता, सुशासन, समृद्धि र रोजगारी प्रवद्र्धनको कार्य अहिलेका शासकबाट सम्भव नभएकाले अब वैकल्पिक शक्ति उदाउनुको विकल्प नरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्