काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अहिले परिवर्तन नेता की कार्यकर्ता को हुनुपर्ने हो ? भनेर बहस चलाउन खोजिएको उल्लेख गर्दै सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान भएको उल्लेख गरेका छन् । उनले सोहीअनुसार नेता, कार्यकर्ता र समाजपनि भएको उल्लेख गरेका छन् । उनले एक हातले ताली नबज्ने उखान पनि स्मरण गराएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-“यतिवेला परिवर्तन हुनुपर्ने को ? नेता कि कार्यकर्ता भनेर बहस चलाउन खोजिदै छ । सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान हो । अनि सोही अनुसार नेता, कार्यकर्ता र समाज पनि हो । भनिन्छ एक हातले ताली बज्दैन ।”
यस्तै, उनले एमालेले मधेश प्रदेश सरकारमा जसपाका नेतृत्वको सरकारलाई विश्वासको मत दिनुको कारण पनि खुलाएका छन् । उनले राजनीतिक अस्थिरताका विरुद्धमा आफ्नो दलले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेका छन् । साथै, बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने आफूहरुले अपेक्षा राखेको बताएका छन् ।
यसबारेमा पनि उनले फेशबुकमा लेखेका छन्-“जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा(एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर वाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिवेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती वन्न पुगेको छ ।” File Photo/ReportersNepal