काठमाडौं, असार १ । मुख्यसचिव शंकरदास बैरागीको तीन वर्षे कार्यकाल सकिन साढे ३ महिना बाँकी हुँदा सरकारले उनलाई राजीनामा गर्न लगाएर सो पदमा बैकुण्ठ अर्याललाई लगेको छ। सचिव अर्यालको पाँचवर्षे कार्यकाल असार ३ गते सकिँदै थियो। असार ३ गतेअगावै मुख्यसचिवमा बढुवा नभए उनी निजामती सेवाबाट बाहिरिने थिए। तर सरकारले अर्याललाई मुख्यसचिव बनाउन बहालवाला मुख्यसचिव बैरागीलाई सो पदबाट राजीनामा गर्न लगाएर सुरक्षा परिषद्को सल्लाहकार बनाएको छ।
मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिवबाट राजीनामा गराउँदै अर्याललाई सो पदमा बढुवा गरेको हो। बैरागीलाई सुरक्षा परिषद् सल्लाहकार बनाउने सर्तमा राजीनामा गर्न लगाइएको थियो। मुख्यसचिव पद खाली गराएर मन्त्रिपरिषद्ले अर्याललाई मुख्यसचिव र नयाँ पद सुरक्षा सल्लाहकार खडा गरेर त्यसमा बैरागीलाई नियुक्त गरेको हो।
बैरागीले बिहीबार नै सुरक्षा सल्लाहकारको शपथ लिएका छन्। बैरागीले राजीनामा नदिएको भए उनी असोज १४ गतेसम्म मुख्यसचिव हुन्थे। मुख्यसचिवको कार्यकाल तीन वर्षको हुन्छ। तीन वर्ष पूरा नहुँदै ५८ वर्ष पुगे पनि मुख्यसचिवले सेवाबाट अवकाश पाउने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा छ। बैरागीले पुरै कार्यकाल मुख्यसचिवको जिम्मेवारी सम्हालेका भए अर्याल उक्त जिम्मेवारीमा पुग्ने थिएनन्। किनकी सचिवको पाँचवर्षे कार्यकाल पूरा गरी असार ३ मा उनले अवकाश पाउँदै थिए। वरिष्ठताका आधारमा सूर्य गौतम, देवकुमारी गुरागाईं, केवल भण्डारीमध्येबाट एक मुख्यसचिव हुन्थे। बैरागीले कार्यकाल पूरा नगरी राजीनामा दिँदा निजामती प्रशासनको उच्च नेतृत्वमा पुग्ने प्रतिस्पर्धामा सहभागी हुनबाट उनीहरू वञ्चित भएका छन्।
अहिलेको कानुनी व्यवस्थाअनुसार अर्यालले मुख्यसचिवको तीन वर्षे कार्यकाल पूरा गर्न पाउनेछैनन्। निजामती ऐनमा ५८ वर्ष पुगेपछि अनिवार्य अवकाशमा जाने व्यवस्था छ। अबको साढे दुई वर्षमा अर्याल ५८ वर्षे उमेरहदका कारण अवकाशमा जानेछन्।
मुख्यसचिवको ३ वर्षे कार्यकाल पूरा नगरी राजीनामा दिने÷दिन लगाउने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीको पालाबाट सुरु भएको थियो। त्यसपछि सरकारले मुख्यसचिवलाई राजीनामा गर्न लगाउने र रिक्त ठाउँमा आफूअनुकूलका सचिवलाई बढुवा गर्ने परम्पराजस्तै बस्यो। यो परम्परा प्रशासन क्षेत्र सुधारका लागि अत्यन्त हानिकारक हुने प्रशासनविद् बताउँछन्। नागरिक दैनिकबाट