Logo

पेट्रोलियम पदार्थको आयात घट्यो



काठमाडौं, ३ असार । नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ।

भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ।

पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख बराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर डिजल आयात भएको छ।

डिजल आयातबाट कार्यालयलाई चार अर्ब ६२ करोड २९ लाख राजस्व प्राप्त भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए।

गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड तीन लाख बराबरको एक लाख ४१ हजार पाँच सय २८ किलोलिटर डिजल आयात भएको थियो। यसबाट कार्यालयले पाँच अर्ब ५४ करोड २७ लाख राजस्व असुल गरेको थियो।

वैशाखसम्म तीन अर्ब ८६ करोड ९७ लाख ८४ हजार मूल्य बराबरको ३८ हजार आठ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ। यसबाट दुई अर्ब २२ करोड ५२ लाख राजस्व असुली भएको छ।

गत वर्षको सोही अवधिमा रु चार अर्ब चार करोड २९ लाख बराबरको ४४ हजार नौ सय ७६ किलोलिटर पेट्रोल आयात भएको थियो। उक्त पेट्रोल आयात हुँदा दुई अर्ब ५१ करोड ७९ लाख राजस्व असुली भएको छ।

त्यस्तै तीन अर्ब ९५ करोड ८२ लाख बराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकामा गत वर्ष चार अर्ब २६ करोड ८२ लाख बराबरको तीन करोड ६९ लाख दुई हजार छ सय ७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए। रासस



प्रतिक्रिया दिनुहोस्