Logo

नेपाल राम र भारत सीता बिना अधुरो छः मन्त्री किराँती



काठमाडौं, असार ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम र भारत सीता बिना अधुरो छ रहेको बताएका छन्।

मंगलबार लुम्बिनीमा आायेजित ९ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन क्रममा उनले २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहदै आएको र कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भनेपनि नेपाल र भारतको सम्बन्ध एक अर्कासँग अटुट रहेको जनाए ।

नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित रहेको बताउँदै मन्त्री  किराँतीले नेपाल राम बिना अपूर्ण रहेको र भारत सीता बिना अपूर्ण रहेको उनले बताए ।

मन्त्री किराँतीले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको समेत बताएका छन् ।

उनले भने, ‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ । तर योग धर्मसँग पनि जोडेर हेरिन्छ । योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो ।’

उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए । उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ ।’

मन्त्री किराँतीले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासंग जोडिदै आज विश्वव्यापी लोकप्रिय हुँदै गएको बताए ।महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरेपनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेकाले गौतम बुद्धको नाम पनि अग्रपंक्तिमा आउँने उनको भनाई छ ।

योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसंग मात्र होइन मानवलाई योगले बिश्व ब्रह्माण्डसंग र मानव कल्याणको साझा ज्ञान संग जोड्ने उनले दाबी गरे ।

नेपाल भारतबीचको व्यापारिक सम्बन्ध २३ सय बर्ष अघि निरन्तर कायम रहेको बताउँदै उनले त्यो बेला नेपालबाट निर्यात हुने छाला, ऊन र जडिबुटी प्रख्यात थियो भन्ने कुरा कौटिल्यशास्त्रमा लेखिएकोबारे स्मरण गराए ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि कञ्चनपुरको महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको मन्त्री किराँतीले बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताएका छन्।

नेपाल र भारत सरकारबीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिवद्धता जनाउँदै उनले दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताए। पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुसीको विषय भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्