Logo

रामनारायण बिडारीको प्रतिवाद : तर्कुले, बाइमात्रा पनि परिवर्तन नगर्ने हो भने बजेटमा किन महिनौं छलफल गराएको ?



काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खुलेर समर्थन गरेका छन् ।
‘अदालतले सधैंभरि सही निर्णय गर्छ भन्ने छैन । उसका कतिपय निर्णयले देश अप्ठ्यारोमा परेको परिवेश पनि छ । भारतले कहिले नेपालको भूभाग हालेर सांस्कृतिक नक्सा झुन्डाउँछ, कहिले फिल्ममा सीता भारतकी छोरी भन्छ । त्यसमा बालेनले विरोध जनाउनु स्वाभाविकै हो । यो ठीकै पनि हो । उहाँले उठाएको प्रश्न राम्रै हो । अदालतले निर्णय गरिसकेपछि मान्नुपर्ने हाम्रो कानुनी व्यवस्था छ । तर पहिले पनि कहिले माओवादीले, कहिले एमालेले अदालतको विरोध गरेकै हुन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । सोझै वा घुमाएर बडो अप्ठ्यारो पार्ने गरी नेपाल र नेपालीको मानसिकतामा ठेस पुर् याउने फिल्मका विषयमा अदालतले पुनर्विचार गर्नुपर्ने बिडारीले बताए ।
देशलाई गन्जागोल पार्ने र निहुँ खोज्ने हिसाबले नागरिकता ऐनमा विवाद गरिएको आरोप पनि उनले लगाए । बिडारीले भने, ‘नागरिकता विधेयक प्रमाणीकरण नगरी पहिलेकी राष्ट्रपतिले अपराध र बेइमानी गरेकी हुन् । तलब भत्ता चाहिं खानु, गर्नुपर्ने काम नगर्नु अनैतिक हो । अहिले ठीक भएको छ । पहिले अदालतको फैसला अलिअलि दलीय गन्ध आउने खालको थियो । अन्तरिम दिनै हुन्नथ्यो ।’ विदेशीले प्राप्त गरेको बेठीक नागरिकताको प्रमाणपत्र बदर गर्न प्रभावकारी छानबिन समिति बनाउनुपर्ने पनि उनले औंल्याए ।
माओवादी नेता बिडारीले सांसदको कुरा सुनेर बजेटमा परिमार्जन गर्नुपर्ने पनि बताए । उनले भने, ‘एक सय वर्ष पुरानो बेलायतको कुरा गर्छन् हाम्रा बुढा नेताहरु । सांसदको कुरा सुनेर बजेट परिमार्जन गर्नुपर्छ । तर्कुले, बाइमात्रा परिवर्तन नगर्ने हो भने महिनौं लगाएर अर्बौं खर्च गरेर किन छलफल गराएको त ?’ अर्को प्रसंगमा बिडारीले कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउनु गलत हुने बताए । उनले थपे, ‘यो गठबन्धन पाँच वर्षका लागि बनेको हो । प्रचण्ड र कांग्रेसको सहमतिमा जे जे हुन्छ, अब त्यही हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्