Logo

दाईजो नल्याएको भन्दै श्रीमानसहित परिवारका सदस्य मिलेर छोरीको हत्या गरिएको पीडित परिवारको दाबी, अस्पतालले पनि गलत पोष्टमार्टम रिपोर्ट बनाएको आरोप (भिडिओसहित)



काठमाडौं, ८ असार । दाईजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–८ थापाचोककी २२ वर्षीया आरती साहको हत्या भएको परिवारको आरोप छ । उनको श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आरतीको हत्या भएको माईती पक्षको आरोप छ । वि.सं. २०७८ असार ३० गते नगराईन नगरपालिका वडा नं.–८ की आरतीको जनकपुर उपमहानगरका मोतिबाबु साहसँग विवाह भएको थियो । विवाह भएको समयदेखि नै दाईजो कम ल्याएको भन्दै आरतीलाई परिवारले मानसिक र शारीरिक यातना दिँदै आएको मृत्तक आरतीका माईतीहरुले बताए ।

आरतीको हत्यामा श्रीमान मोतिबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणुदेवी साह र देवर रवि साहको संलग्नता रहेको माईती पक्षको आरोप छ । हत्या गत जेठ ६ गते नै भएपनि जेठ ७ गते बेलुकामात्रै आफूहरुलाई जानकारी गराएको आरतीका मामा सन्तोषकुमार साहले बताए । घटनापछि वास्तविकता लुकाएर पीडकलाई बचाउन प्रहरी प्रशासनदेखि अस्पतालसम्म लागिपरेको सन्तोषको आरोप छ ।

 

‘यो घटना जेठको ६ गते नै घटेको हो । हामीलाई जानकारी जेठ ७ गते बेलुका ६ बजेर २० मिनेटमा भएको हो,’– मृतक आरतीका मामा सन्तोषले भने । आरती साहको मृत्यु पोष्टमार्टम भन्दा २४ देखि ३६ घण्टा पहिले भएको उनले दाबी गरे । आरतीको हत्या गरेर दिनभरि आफ्नै घरमा राखेर बेलुका मरेको शरीर अस्पताल पुर्याइएको उनको आरोप छ ।

घट्नापछि प्रहरीले बयानमा पीडित पक्षले बोलेको कुरा नलेखेर पीडकलाई बचाउने नियतले आफूखुसी लेखेको मृत्तक आरतीका मामा सन्तोषको आरोप छ । डाक्टरले मृतकको बहिनीलाई सूरुमा डेथ भईसकेपछि मात्रै अस्पताल आईपुगको जानकारी गराएको आरतीका मामा सन्तोषको दाबी छ । आरतीको हत्या गरेर दिनभरि घरमा राखेर सबै योजना बनाएर बेलुका अस्पताल पुर्याएको उनको आरोप छ ।

उक्त घट्नामा जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरीसमेत लिन नमानेको उनको भनाई छ । डिएसपी देवप्रकाश गौतम, एसपी विश्वराज खड्कालगायतले सुरूमा जाहेरी लिन नमानेको र केही समयपछि तीन जना केटी पक्ष र तीन जना केटा पक्षका मान्छे बोलाएर कर्तव्य ज्यानको कसुरमा जाहेरी लिन नमिल्ने भनेको उनले सुनाए । व्यापक जनदवाबपछि प्रहरीले जाहेरी लिएको र अहिले मृत्तक आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहन पुर्पक्षका लागि थुनामा रहेको उनले जानकारी गराए । प्रहरीले चारै जनाको नाममा जाहेरी लिन नमानेपछि आफूहरुले हुलाकमार्फत चारै जनाको जाहेरी दर्ता गराएको उनले बताए ।

मृत्तक आरतीका देवर र सासु पनि उक्त घट्नामा संलग्न रहेको माईती पक्षको दाबी छ । उनीहरुले मृत्तक आरतीकी सासु र देवरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान हुनुपर्ने माग गरेका छन् । घट्नामा संलग्न आरतीका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासु रेणुदेवी र देवर रविलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने मागसहित मृतक आरतीका माईती पक्ष विगत ८ दिनदेखि काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् । उनीहरुले जाहेरी लिन नमान्ने डिएसपी गौतम, एसपी खड्कालाई निलम्बन गरी कारबाही गरिनुपर्ने, फर्जी पोष्टमार्टम रिपोर्ट बनाएर अपराधीलाई उन्मुक्ति दिन खोज्ने कर्माचारी, काव्या हस्पिटल जनकपुरलाई कारबाही गरिनुपर्ने र मृत्तकका माईती पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने मागसहित मधेशी आयोग, महिला आयोग, मानवअधिकार आयोग र मेडिकल काउन्सिलमा उजुरी दिएका छन् ।

पीडित पक्षको बयानमा प्रहरीले आफूखुसी लेखेपछि हस्ताक्षर गर्न नमान्दा प्रहरीले आफूसहित पाँच जना पीडित पक्षका मानिसलाई निर्घात कुटपिट गरेको उनको आरोप छ । आफूहरु बयानमा हस्ताक्षर नगरेकै कारण ७ घण्टा प्रहरी हिरासतमा बस्नुपरेको मृत्तक आरतीका मामा सन्तोषले गुनासो गरे । प्रहरीले पीडित पक्षलाई नै धम्क्याउने र यातना दिने काम गरेको उनको आरोप छ ।

आफूलाई विरामी भनेर जानकारी आएको १० मिनेटमा कान्छी छोरीलाई काव्या अस्पताल पठाउँदा सुरूमा त्यहाँका डाक्टरहरुले मृत्यु भएपछि नै अस्पताल ल्याएको जानकारी गराएको मृत्तक आरतीका बाबुले बताए ।

मृत्तक आरतीकी बहिनी मनिषा साहले आफ्नी दिदीलाई सासु, ससुरा, देवर र श्रीमान मिलेर हत्या गरेको आरोप लगाईन् । केटा पक्षले पटक–पटक दाईजो नल्याएको भनेर यातना र मानसिक दवाब दिइरहेको कुरा आफ्नी दिदी आरतीले आफूसँग सुनाएको मनिषाले सुनाईन् । आफू कहिलेकाहीँ दिदी आरतीको घरमा जाँदाखेरी देवर रविले गलत नजरले हेर्न गरेको र आफू दिदीलाई नराम्रो होला भनेर चुप लागेर बसेको सुनाईन् ।

मृत्तक आरतीका दाजु प्रेम साह, उनकी आमा निर्मलादेवी साहलगायतले आरतीको हत्यामा संलग्न रहेका सबैजना र जाहेरी लिन नमान्ने र उल्टै पीडितलाई यातना दिने प्रहरीमाथि निश्पक्ष छानविन गरी कारबाहीको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्