Logo

माओवादी सचिव आचार्यको दाबी : प्रचण्ड सरकार परिवर्तन हुने एक प्रशितमा पनि सम्भावना छैन्, बजेट संशोधन गर्न सकिन्छ



काठमाडौं, ९ असार । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन् । उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी गरे ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै आचार्यले सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि नभएको दाबी गरे । उनले भने,‘एकथरी विद्धानहरुले भनेको सुन्छु की कांग्रेस सभापति शेरबहादुर देउवाजी सिंगापुरमा जानुभयो, सिंगापुरमा सरकार परिवर्तन गर्नेबारे सबै सोलोडोलो योजना बनिसके, त्यसको लागि कमा र फूलस्टप पनि काम बाँकी छैन भन्ने र उहाँ फर्किएपछि सरकार बन्छ भन्ने पनि हल्ला छ, तर यो सरकार फेरेर तात्विक फरक के हुन्छ ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार नफेरिने र गठबन्धनपनि नफुट्ने दाबी गरे । उनले भने,‘मलाई यो गठबन्धन टुटफूट हुन्छ अनि सरकार फेरिन्छ । भन्ने लाग्दैन् । अर्को सरकार बनिहाल्छ भन्ने मलाई एक प्रतिशत पनि लाग्दैन् । यदि मानिलिउँ फेरियो भने के हुन्छ ? यो तावाको तापले उफ्रिएको माछा आगोको भुंग्रोमा भनेजस्तै हो । हामी अस्थिरताको शिकार हुन्छौं । यदि कसैले सरकार फेर्न खोजेको छ भने अस्थिरता सुरु गरौं भन्नु हो । अर्को ६ महिनापछि अर्को खेल सुरु गर्नुपर्छ । यसो गरियो भने मुलुक अस्थिरताको शिकारतर्फ जान्छ ।’

उनले अहिले जनता धेरैजसो कुरामा स्पष्ट रहेको तर राजनीतिक नेतृत्वले जनतासँग खुलस्त कुरा नगरेको अवस्था रहेको सुनाए । उनले बजेटमा सांसदहरुले आफ्नो कुरा राखेपछि त्यसको सुनुवाई हुनुपर्नेमा जोड दिए । उनले भने–‘बजेट के हुन्छ ? बजेट बास्तवमा जुन आलोचना आइरहेका छन्, त्यो स्वभाविक छ । हामी लकिरको फकिरबाट मुक्त हुनुपर्छ भन्ने मेरो सोचाई छ । बजेट पेश गरियो, त्यसमा कमा र फूलस्टेप पनि चेन्ज नगर्ने अनि जस्तोको त्यस्तै पास गर्ने हो भने लामो प्रक्रियामा किन प्रवेश गरेको त ?’

उनले बजेटबारे अर्थमन्त्री र प्रधानमन्त्रीलाई उठेका विषयमा सम्बोधन गर्ने ठाउँमा जानुपर्ने सुझाव दिए । उनले थपे,‘बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सदनभित्र आएका प्रश्नहरुलाई सम्बोधन गर्नको लागि संशोधन गर्ने नजिर स्थापित गर्नुभयो । बजेटका कमिकमजोरीहरु हटाउन सकिन्छ, यसको लागि नेताहरुले काम गर्नुपर्यो, यो उहाँहरुकै हातमा छ ।’

उनले देशमा विद्यमान सबैखाले समस्याको हल गर्न प्रमुख दलहरु गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने,‘सबै पार्टीभित्र गम्भीर छलफल हुनुपर्छ, एमालेभित्र पनि सबै दलले देशको अवस्था कसरी परिवर्तन गर्न सकिन्छ भनेर १० वटा मुद्दामा गम्भीर बहस गर्न जररी छ । हामीले समाजवाद भनेका छौं । जनता समाजवादको ठट्टा गरिरहेका छन् । हामीले नेपालमा क्लासिकल समाजवादको कल्पना गरेका छौं । चीनमा पनि अझै पनि समाजवाद आएको छैन् । उनीहरु समाजवादको निम्ति कोशिस गरिरहेका छन् । हाम्रो सन्दर्भमा समाजवादको सुरुवात कहाँबाट हुन्छ ? त्यसबारे गम्भीर हुनुपर्छ ।’

नेता आचार्यले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । उनले थपे,‘हाम्रो युवा जनशक्ति खासगरी बलिया पाखुरा बाहिर गएका छन् । यसरी विदेश जानेमा १ करोडको हाराहारीमा संख्या छ । उनीहरुलाई देशमै राख्न सकिन्छ कि सकिँदैन ? यसबारेमा सोच्नुपर्यो, शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न सक्छौं भन्नेबारे छलफल चलाउनुपर्छ ? बाँझो जमिन नराख्नेगरि जानुपर्छ ।’

उनले अहिले विकासको लागि बजेटमा ठूलो झगडा रहेको दृष्टान्त पेश गरे । उनले विकास भनेको बाटो खन्नुमात्रै नभएको जिकिर गरे । उनले भने,‘समग्र देशको विकासको मोडेल हेर्नुहोस, एमालेले पनि पाँच पटक सरकार चलायो । अब विकासको मोडेल ब्रेक गर्नुपर्छ । आधुनिक शहर बनाउनुपर्छ । एउटा घर भएको ठाउँमा बाटो पुर्याउनुमात्रै विकास होईन । हिजो पञ्चायतमा र राजाहरुले सुरु गरेका काम हामीले ब्रेक गर्न सकेनौं । त्यो गर्न नसक्दा देश घुमाउरोमा परेको हो । अब एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्छ ।’

नेता आचार्यले प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणमा सबैकुरा सर्वनाश भयो भनेर पनि भनेको सुनिएको भन्दै भारत भ्रमणको क्रममा देशको हितमा थुप्रै काम भएको दाबी गरे । उनले भने,‘नेपालले १० हजार मेगावाट भारतलाई बेच्ने सहमति भयो, यो सहमति गर्नु के देश बर्बाद हुनु हो ? औपचारिक मञ्चमा भारतीय प्रधानमन्त्रीले नेपाल र भारतबीच सिमा समस्या छ, यसलाई समाधान गर्नुपर्छ भनेर पहिलोपटक यसपटक प्रधानमन्त्रीज्यूको भ्रमणको क्रममा भन्नुभयो, यो राम्रो काम होईन । त्यसैले सकारात्मक सोचौं ।’

 



प्रतिक्रिया दिनुहोस्