काठमाडौं, ११ असार । । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले सत्तापक्षका सांसदहरुको माग अनुसार बजेट संशोधन नहुने बताएका छन् ।
‘अहिलेसम्म बजेट संशोधन गर्ने अभ्यास र परम्परा छैन । गर्ने हो भने कतिपय कानुनी कुरा नै संशोधन गर्नुपर्छ । अब कताको बजेट काट्ने, कता हाल्ने ? डडेलधुराको काटेर रामेछाप कि ताप्लेजुङमा हाल्ने कि कता हाल्ने ? त्यसकारण बजेट फेल हुनु भनको सरकारको काम फेल हुनु हो । प्रधानमन्त्रीको पद धरापमा पर्नु हो । त्यसकारण सरकार बजेट संशोधनमा लाग्छ भन्ने लाग्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
अहिले संसद् र सरकारको कामै छैन जसरी छलफल चलिरहेको पनि रायमाझीले बताए । उनले भने, ‘प्रि–बजेट छलफल बढाउनुपर्थ्र्यो । छलफल गरेर पो बजेट ल्याउने हो, बजेट ल्याएर छलफल गर्ने होइन । हाम्रो बजेटमाथिको छलफल जहिल्यै कर्मकाण्डी नै छ । संशोधन गर्न सकिँदैन भने संसद् र सरकारको महिनौं समय खर्च किन गर्ने ? यो त सरकार र संसदको कामै छैन जस्तो भयो ।’
नेपाली कांग्रेस सरकार परिवर्तनमा लाग्दै नलाग्ने पनि रायमाझीले बताए । उनले भने, ‘प्रचण्डको सरकार किन परिवर्तन गर्ने ? कोही व्यक्तिले बोलेको आधारमा सरकार परिवर्तन हुँदैन । पार्टीको संस्थागत र आधिकारिक धारणा हुनुपर्छ । बजेट पास भएर सरकारले केही न केही काम गरेको देखियो भने एमालेलाई चुनावमा जाने मुद्दा हुँदैन । सरकार परिवर्तनको हल्ला फिँजाए कर्मचारीले काम गर्न छाड्छन् भनेर उसले तिकडम गरेको हो । सरकार परिवर्तन हुँदैन, गर्नुहुँदैन ।’
फरक प्रसंगमा नेता रायमाझीले नेकपा एमाले जहिल्यै भ्रष्टाचारीको संरक्षणमा लाग्ने गरेको आरोप लगाए । उनले थपे, ‘भ्रष्टाचारका बारेमा कांग्रेसको धारणा स्पष्ट छ । आफ्नै नेता पक्राउ पर्दा पनि निष्पक्ष छानबिन गर भनेकै हो । अख्यितार दुरुपयोग अनुसन्धान आयोग कांग्रेसले बनायो, त्यसका कानुन पनि कांग्रेसले नै बनायो । तर नेकपा एमाले पशुपतिको जलहरी, ओम्नी, गोकर्ण, यतीको छानबिन गर्नै चाहँदैन । पशुपतिको जलहरीमा भएको भ्रष्टाचारको विरुद्धमा बोल्यौ भनेर संसदको रेकर्ड हटाउन लगाउने कस्तो प्रतिपक्ष हो ? जनतालाई छलेर झुक्काएर चुनाव जितेर मन्त्री भएँ भन्दैमा मुलुक लुट्न पाइन्छ ?’