Logo

विप्लव माओवादीमा आउने तयारी भैरहेको बेलामा संसदमा वर्षमान र जनार्दनको खासखुस



काठमाडौं, १३ असार । पछिल्लो समय चार दलहरु नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा मिलेर समाजवादी मोर्चा नेपाल गठन भएपछि राजनीतिक तातिएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग निरन्तर छलफल गरेका छन् ।

दाहालको सचिवालयले त विप्लवसँग पार्टी एकताको तयारी भैरहेको जनाएको छ । विप्लव माओवादीमा फर्किँदा शक्तिशाली पद महासचिव पाउने चर्चा चलेको छ । तर, विप्लवले भने सार्वजनिक रुपमा पदीय हिसाबले छलफल नचलेको दाबी गरेका छन् । माओवादीकै कतिपय नेताहरुले भने विप्लवलाई पार्टीमा भित्र्याएर महासचिव बनाउने अध्यक्ष प्रचण्डको तयारी लगभग निश्चित्जस्तै भएको दाबी गरेका छन् ।

प्रचण्ड पार्टीमा आफू बलियो अवस्थामा रहन चाहन्छन् । उनले त्यसको लागि उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मालाई साइजमा राख्नको लागि विप्लवलाई पार्टीमा भित्र्याउन चाहेको चर्चा छ । पार्टीको महाधिवेशन ताका महासचिवमा पुन र शर्मा दुवैले दाबी गरेका थिए । दुईमध्ये एकलाई महासचिव बनाए अर्कोले आफूविरुद्ध मोर्चाबन्दी गर्ने दाहालको बुझाई थियो । त्यही भएर उनले तेस्रो व्यक्तिको रुपमा देव गुरुङलाई महासचिव बनाएका थिए ।

अहिले पुन र शर्माबीच दोस्ती बढेको छ । यो अवस्थामा आफूमाथि षड्यन्त्र हुने देखेर प्रचण्ड विप्लवलाई महासचिव बनाउने तयारीमा लागेको छ । यसैबीच विप्लव पार्टीमा आउने चर्चा भैरहँदा उपमहासचिवद्धय पुन र शर्माको दोस्ती भने निकै झाँगिएको छ । उनीहरु एक आपसमा निकै खुल्ने गरेका छन् । आज संसद्मा विनियोजन विद्येयकमाथि मतदान भैरहँदा यी दुई नेताबीच भलाकुसारी भैरहेको थियो । उनीहरुले विप्लव माओवादीमा आए आफूहरु स्वागत गर्न तयार रहेको कुरा बताउने गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्