बखतियार अलि
सर्लाही,१७ असार । सर्लाहीको हरिपुर नगरपालिकाको चौथो त्रेमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीको आयोजनामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजियारले सबै वडाअधयक्ष र कर्मचारीहरूको सहयोगले हरिपुर नगरपालिकामा चौतर्फी बिकासको अवधारणालाई अघि सारेको बताए । शिक्षा, स्वास्थ र कृषिमा आफुले उदाहरणीय काम गरेर देखाउने दाबी गर्दै उनले यसको लागि सबैको सहयोग र सल्लाहको अपेक्षा रहेको जनाएका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजलले चालु आवको चौथो त्रैमासिक सम्मको असार मसान्तसम्म ५९ करोड १४ लाख ६४ हजार ७४४ रुपैया ९४ पैसा बजेट रहेको मध्ये चौथो त्रेमासिक सम्ममा ३६ करोड ८५ लाख रकम खर्च भएको विवरण उपस्थित हरिपुर नगरवासीहरुमा जानकारी गराए ।
भुजलले चालु आवको अन्तिम मसान्तसम्म आई पुगदा जम्मा ६३ प्रतिशत मात्र बजेट खर्च भएको बताए । राजस्व बाडफाड र समपुरक बजेटमा कटौती भएको कारण बिनियोजित बजेट अनुसार रकम खर्च नहुने उनले सर्बजनिक सुनुवाई कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा हरिपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष नानी बाबू थापाले चौथो त्रेमासिक सम्ममा सम्झौता भए अनुसारको सडक ढलान कार्य सम्पन्न भएको जनाए । त्यस्तै वडा नं २ का बडा अध्यक्ष निरबिक्रम थापाले चौथो त्रैमासिक सम्ममा वडामा स्वीकृत भएको केही योजनाहरु बाहेक सम्झौता अनुसार काम सम्मपन्न भएको र बाँकि काम धमाधम भईरहेको बताए ।
वडा नं ३ का वडा अध्यक्ष लालमहमद शेखले एउटा मदरसाको निर्माण कार्य सम्पन्न भएको र बाँकी योजनाहरुको काम संचालन भैरहेको बताए । यसैगरी वडा नं ५ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले जम्मा ३७ वटा योजना मध्येका सबै योजनाहरु सम्पन्न भएको जानकारी दिए ।
वडा नं ६ को वडा अध्यक्ष प्रेमहरी श्रेष्ठले १२ वटा योजना रहेकोमा धेरै योजनाहरू सम्पन्न भएको र केही योजनाहरूको काम भईरहेको जनाएका छन् । यसैगरी वडा नं ७ का वडा अध्यक्ष मनोज चौधरीले यश वडामा २५ वटा योजनाहरु संचालनमा रहेकोमा उज्यालो अभियान तथा सडक ढलानको कार्य भईरहेको बताए ।
वडा नं ८ का वडा अध्यक्ष हरिबहादुर थापाले भने २२ वटा योजनाहरू रहेकोमा केही बाहेक सबै योजनाहरू सम्पन्न हुने र केही साना साना योजनाहरुको काम सम्झौता गरि यसै मसान्तमा पूरा गर्ने गरि काम भई रहेको बताए ।
त्यस्तै वडा नं ९ का वडा अध्यक्ष विश्वनाथ रायले जन्ताको चाहना बमोजिम काम भैरहेको बताउँदै एक रुपैयाँको पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले बाल अक्ष्यकोषको स्थापना वडाहरुमा छ छैन, बालमैत्री सौचालय छ छैन, विधालयहरुमा आठ महिना बितिसक्दा पनि पुस्तक अभाव रहेको, लगायतका विभिन्न विषयमा प्रश्न गरेका थिए ।