Logo

शुक्लाफाँटा आरक्षबाट विस्थापितहरुको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गर्छु : वनमन्त्री महतो



काठमाडौं, २१ असार । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले शुक्लाफाँटा आरक्षबाट विस्थापितहरुको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गरेर त्यसको समाधान गर्न लागिएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज (बिहीबार) बसेको बैठकमा बोल्दै मन्त्री महतोले यस्तो बताएका हुन् । उनले भने,”अरु ठाउँमा अतिक्रमण गरेको ठाउँमा दिने कि छुटाउने भन्नेमा कस्तो दोधार छ भने कतिले राहत पनि पाइसकेको छ, कतिले पाउन पनि बाँकी छ । पाउनेहरु त्यहाँबाट हट्न मानिरहेका छैनन् । नपाउनेको त्यहीँ बसेपनि समस्या छ ।”

मन्त्री महतोले समस्या समाधानको नाममा थुप्रै आयोगहरु बनेपनि त्यसले समाधान निकाल्नेगरि काम गर्न नसकेको सुनाए । उनले भने,”आयोगहरु थुप्रै बने । तर, यसमा राजनीतिकरण हुने रहेछ । राजनीतिकरण छोडिदियो भने तीन दिनभित्र यो समस्या समाधान हुन्छ । तर के छ भने यस्तो पेचिलो तरिकाले आयोग बनाउने, रिपोर्ट दिने र फेरि आयोग बनाउने, रिपोर्ट दिनेगरी राजनीतिकरण भएको छ । यसपटक हामी विगतजस्तो होइन अधिकारसम्पन्न आयोग गठन गरेर लाग्छौं । यसलाई मुख्य प्राथमिकताका रुपमा लिएका छौं । सांसदहरुको सुझावलाई गहन रुपमा लिएको छु ।”

उता, रास्वपाका सांसद अशोक कुमार चौधरीले कञ्चनपुरको शुक्लाफाटा वन्यजन्तु आरक्ष पीडितको समस्या २२ वर्षदेखि लम्बिरहेको भन्दै मन्त्री महतोको ध्यानाकार्षण गराएका थिए । उनले अहिलेसम्म समस्या समाधानको लागि ३२ वटा आयोग बनेको स्मरण गराए ।

तर, पीडितहरूले समस्या समाधान नभएको भनेर गुनासो पोखिरहेको उनको भनाई थियो । उनले भने,”यसमा मन्त्रीको ध्यान जाओस् । मेरो प्रस्ताव त के छ भने शुक्लाफाटा वन्यजन्तु आरक्ष पीडितको समस्याबारे संसदीय समिति बनाएर अनुगमनमा जाउँ । यसमा समिति सभापति, वनमन्त्री र सचिवको ध्यानाकर्षण गराउँदछु ।”

 



प्रतिक्रिया दिनुहोस्