काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षसँग जहाँ भन्यो त्यहीँ मुकाविला गर्न एमाले तयार रहेको बताएका छन् । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको छ । र, एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताएको छ ।
यही सन्दर्भमा सत्ता गठबन्धनको बैठक बसेर एमालेलाई सदनमै जवाफ दिने निर्णय गरेको थियो । सत्ता गठबन्धनको उक्त निर्णयलाई लिएर आक्रोशित हुँदै ओलीले राष्ट्रियता र स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएपछि आफूहरुले प्रधानमन्त्रीको राजीनामा मागेको भन्दै सत्ता पक्षले जहाँ बोलाएपनि आफूहरु तयार रहेको भन्दै ठाउँ तोक्ने चूनौति दिए ।
ओलीले प्रतिम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको पनि बताए । आज (शुक्रबार) किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु नभनेको भन्दै प्रीतम सिंहलाई अनावश्यक विवादमा मुछिएको आरोप लगाए ।
ओलीले सत्ता पक्षसँग आफ्नो दल पार्लियामेन्टमा मात्रै नभएर ठाउँ तोकेर बोलाए त्यही जान तयार रहेको बताए । उनले थपे,‘उहाँ (प्रचण्ड) ले के का लागि पार्लियामेन्टमै सामना गर्छौ भनेको हो ? उहाँहरुले वार्ता गर्छौ समस्या समाधान गर्छौ भन्नुभएन । पार्लियामेन्टमा सामना गरिन्छ भन्नुभयो, प्रतिपक्षको म मसिनो स्वरमा भन्न चाहन्छु–पार्लियामेन्टमात्र होइन सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ । स्पट तोकेर बोलाए हुन्छ ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम