Logo

प्रतिबन्धित काममा कुवेत जान लागेकाले रोक्यौं : महानिर्देशक अधिकारी



काठमाडौं, ३० असार । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले आफ्नो विभागमा सेटिङ हुन्छ भन्नु सरासर गलत भएको बताएका छन् ।
‘अध्यागमन विभागको कामै यात्रुको पासपोर्ट र भिसा आधिकारिक हो कि होइन भनेर हेर्ने हो । हामी हरेक दिन १० हजार जनालाई प्रस्थान अनुमति दिन्छौं । त्यस सन्दर्भमा केही व्यक्तिमाथि शंका लागेर फिर्ता गर्नुलाई अन्यथा रुपमा लिनु हुँदैन र त्यसलाई सेटिङ हुन्छ भनेर प्रचार गर्नु अध्यागमन विभागको कामै नबुझ्नु हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेपाल सरकारले प्रतिबन्ध लगाएको काममा कुवेत लागेका १५६ जनाको कागजातमा शंका लागेर रोकिएको पनि महानिर्देशक अधिकारीले बताए । उनले भने, ‘पहिलो पटक कुवेतमा जान लागेर १५६ जना अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा आउनुभयो । उहाँहरुको बयानबाट दुइटा भिसा भएको देखियो । कुवेतमा घरेलु हिंसाका कारण हाउस मेडमा जान प्रतिबन्ध छ । केही व्यवसायीले त्यसलाई दुरुपयोग गरेर हाउसमेडको भिसालाई झोलामा राख्ने र अर्को भिसा हातमा लिएर आएपछि हामीलाई शंका लाग्यो । थप अनुसन्धानका लागि हामीले तत्काललाई फिर्ता गरेका मात्र हौं । फेक भिसा लिएर कुवेत जाँदा भोलि सजाय पाएर फिर्ता हुनुपर्दा कस्तो होला ? त्यस्तो मुलुकमा जोखिमपूर्ण र प्रतिबन्धित काम गर्न किन जाने ?’
आफूहरुले सार्वभौम अधिकार प्रयोग गर्दा अनावश्यक प्रचार गरिएको दाबी पनि अधिकारीले बताए । उनले भने, ‘यात्रुले त्यहाँ के काममा जाने हो भन्ने कुरा कागजातले पुष्टि गर्नुपर्छ । यात्रुले पेस गरेका कागजातमा शंका लाग्यो भने अध्यागमन अधिकृतले सार्वभौम अधिकार प्रयोग गर्छ । यसमा कहीं उजुरबाजुर लाग्दैन । अन्तर्राष्ट्रिय अभ्यास यही हो । यस्ता अनावश्यक र वाहियात तर्क गर्न मिल्दैन ।’
अध्यागमन विभागले यात्रुसँग पैसा लिएको सप्रमाण जानकारी दिए तत्काल कारबाही हुने पनि उनले बताए । अधिकारीले भने, ‘विदेश जानुअघि के के कागजात चाहिन्छ भन्ने हाम्रो वेबसाइटमा छ । त्यो भन्दा बढी अरु कागजात चाहिँदैन । अध्यागमनले कसैलाई दुःख दिँदैन, गलत कामलाई निरुत्साहित गरेका छन् । यहाँ त अमेरिकी राहदानी र भिसा नै नक्कली प्रयोग गरेका छन् । हामीले दूतावाससँग समन्वय गरेर काम गरिरहेका छन् ।’

 



प्रतिक्रिया दिनुहोस्