Logo

सुन तस्करी प्रकरणः सुराकीले कति पाउँछन् पुरस्कार ?



काठमाडौं, ५ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिने क्रममा राजश्व अनुसन्धान विभागको टोलीले एक सय किलोभन्दा बढीमात्रामा सुन नियन्त्रणमा लिएको थियो । गत मंगलबार हङकङको क्याथे प्यासिफिक एयर हुँदै आएको उक्त अवैध सुन मोटरसाइकल तथा स्कुटरको ब्रेकसुमा लुकाएर तस्करी गरिँदैथियो ।

सुन तस्करी भइरहेको कच्चा सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार गोप्यतवरले सिभिल ड्रेसमा खटेर भन्सारमा निगरानी बढाएको थियो । विमानस्थलको यात्रु गेटदेखि कार्गो क्षेत्रका भित्र र बाहिर अत्यन्तै गोप्य अप्रेसन गर्दै कडा निगरानीमा रहेको टोलीले ट्याक्सी जम्मा गरेर निस्किँदै गर्दा सुन बरामद गर्न सफल भएको थियो ।

विभागलाई रेडी ट्रेडर्सले सुन तस्करी गरिरहेको सूचना थियो । ब्रेकसुको कूल तौल १ सय ५५ किलो आएको छ । त्यसमा अन्दाजी १ सय किलो सुन हुनुपर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विमानस्थलबाट ठूलो परिमाणमा कार्गोमार्फत सुन आउँदै गरेको सुराकी विभागका महानिर्देशक नवराज ढुंगानाले १० दिन अगाडि नै पाएको बताइएको छ । विभागलाई सुराकी दिनेलाई पुरस्कार सम्बन्धी व्यवस्थासमेत गरिएको हुन्छ । भन्सार नियमावली,२०६४ को दफा ४७ ले सुराकीलाई पुरस्कार सम्बन्धी व्यवस्था गरेको छ

कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गर्न लागेमा वा गरेमा त्यसरी चोरी निकासी वा चोरी पैठारी गर्न लागेको सुराकी दिने वा पक्राउ गर्ने व्यक्तिलाई सो मालवस्तु चोरी निकासी वा चोरी पैठारी गरेको वा गर्न लागेको प्रमाणित हुन आएमा त्यस्तो मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट मुद्दाको अन्तिम किनारा भएपछि भन्सार महसुल माफी र मूल्य अभिवृद्धि कर छुट भएका मालवस्तुहरु बाहेक अन्य मालवस्तु भए चोरी निकासी वा चोरी पैठारी गर्नलागेको सुराकी दिनेलाई १० प्रतिशत, चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मानिससहित पक्री पेश गर्नेलाई २० प्रतिशत र चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मात्र पक्री पेश गर्नेलाई १० प्रतिशत पुरस्कार दिने व्यवस्था रहेको छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २९ ले समेत पुरस्कार सम्बन्धी व्यवस्था गरेको छ ।  उक्त ऐन अन्तर्गतको कसूर गरेको सूचना दिने सुराकीलाई सो कसूर सम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि असुल भएको बिगो रकमको सुन, हिरा, जवाहरातको हकमा दश प्रतिशत वा पचास लाख रुपैयाँमध्ये जुन घटी सो बराबरको रकम र अन्य मालवस्तुको हकमा बीस प्रतिशत वा पच्चीस सो बराबरको रकम पुरस्कार दिने व्यवस्था रहेको छ ।

उक्त सुन एक अर्ब मूल्यभन्दा बढीको रहेको अनुमान गरिएको छ । यद्यपि सुनको तौल कति हो भन्ने एकिन भइसकेको छैन । सुनको तौल एकिन पश्चात त्यसको दश प्रतिशतले सुराकीले पुरस्कार पाउने छन् । यद्यपि पचास लाखभन्दा उक्त सुनको मूल्यको १० प्रतिशत रकम बढी हुने भएकाले सुराकीले उक्त प्रकरणमा पचास लाख पाउने छन् । सुराकी दिने व्यक्ति एकभन्दा बढी रहेको अवस्थामा सोही रकम दामासाही रुपामा बाँडफाँड हुनेछ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्