काठमाडौं, ५ साउन । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एक सय किलो सुन तस्करी प्रकरणको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरेको छ । युवा संघले आज (शुक्रबार) नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन गर्दै भरिया र ड्राईभर पक्राउ गरेर सुन तस्करीका मुख्य नाईकेलाई उन्मुक्ति नदिन सरकारको ध्यानाकार्षण गराएको हो ।
उनीहरुले ‘हाम्रो एयरपोर्ट सर्वसाधरणलाई सास्ती, सुन तस्करलाई मस्ती, सुन तस्करलाई पक्राउ गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
साथै, युवा संघले गृह प्रशानको संलग्नता विना उक्त सुन तस्करी हुन नसक्ने दाबी गरेको छ । युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,– ‘यति संवेदनशील विषयमा गृह मन्त्रालय बेखबर रहने कुरै आउँदैन । ती सामान कसको निर्देशनमा विमानस्थलबाट भित्रियो ? गृह प्रशानको संलग्नता विना सो सामान भित्रन सक्ने कुनै आधार छैन । तसर्थ यस विषयमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ ।’
विमानस्थल ठूलो सुरक्षा जनशक्ति र अत्याधुनिक प्रविधियुक्त संरचना भएको उल्लेख गर्दै यिति ठूलो परिमाणमा सुनको आयात हुँदा नेपाल प्रहरी र विमानस्थल भन्सारले थाहा नपाउने भन्ने कुरा पत्याउन नसकिने विज्ञप्तिमा उल्लेख छ ।
युवा संघ नेपालले मुख्य तस्करहरुलाई तुरुन्त पक्राउ गरी कथित ठूला माछाहरुलाई सार्वजानिक गर्न सरकारसँग माग गरेको छ । गृह प्रशासनले भरिया र ड्राइभरहरुलाई पक्रेर नक्कली तस्कर खडा गरी सरकारबाट संरक्षित तस्करहरुलाई जोगाउन लागि परेको युवा संघको आरोप छ ।
सुन तस्करीको विषयलाई विरोध जनाई सार्वजनिक गर्दा गृहमन्त्री नै पत्रकारमाथि हतोत्साहित हुनेगरी दमनको शैलीमा उत्रिएको युवा संघको ठहर छ । गृहमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको ठाडो उलंघन गरेको उनीहरुको आरोप छ । सुन तस्करीविरुद्ध आवाज बुलन्द गर्दा राज्य पक्षबाट भएको दमनको सशक्त प्रतिरोध गर्ने पनि युवा संघले जनाएको छ । Photo By: Dinesh Chaudhary/ RN