Logo

‘अर्थमन्त्री र गृहमन्त्रीले सुन तस्करीको सञ्जाललाई सहयोग गरे’



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शुनिल शर्माले त्रिभुवन विमानस्थलबाट भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिएर उक्त प्रकरणको छानविनमा नैतिकताको आधारमा सहयोग पुर्याउन पर्ने बताएका हुन् ।

‘यो अर्थमन्त्री र गृहमन्त्रीको विग फिसर (विग पोट्याटो) हरुको मिलेमतो नहुने हो भने एउटा सुब्बा लेवलको कर्मचारीले एक्सरे मेसिनमा बसेर यत्रो माल कटाउन सक्छ ? जुनसुकै सामन पनि एक्सरे गराईन्छ । एक्सरे गराउँदा वरिपरी पुलिस हुन्छन् । विना एक्सरे अन्तराष्ट्रिय एयरपोर्टबाट आउने सामन आउँदैन,’– उनले भने ।

गृहमन्त्री र अर्थमन्त्रीले मिलेमतोमा छोडिसकेको सुन प्रधानमन्त्री मातहतको राजश्व अनुसन्धानले पक्रिएकाले अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्रीलाई भ्रममा राख्न खोजेको उनको आरोप छ ।

‘अन्तराष्ट्रिय एयरपोर्टको बाउन्ड्री कटेर आएर प्रधानमन्त्रीको मातहतमा रहेको राजश्व अनुसन्धान विभागले पक्रियो । हामीले प्रधानमन्त्रीको नियतप्रति शंका गर्न मिल्दैन । प्रधानमन्त्रीको कामको स्वागत गर्नपर्छ । तर, उहाँलाई पनि यो गठबन्धनभित्र रहेका अर्थमन्त्री र गृहमन्त्रीले भ्रममा राख्नुभएको छ कि भन्ने मलाई लागिरहेको छ,’– उनले भने ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ११ महिनामा २२औं पटक सुन तस्करी भएको उनको दाबी छ । उनका अनुसार उक्त अवधि भरिमा पाँच सय ८६ केजी सुन राज्यले नियन्त्रणमा लिएको छ ।
‘यो सेटिङ हो । एउटा हर्लिक्सको डिब्बामा लाने अचार खुर्सानी छ भनेर पत्ता लगाउन सक्ने सिस्टम छ त्यहाँ । एक डेढ तोलाको सुनको सिक्री लिएर आउँदा सामन्य नागरिकलाई दुःख दिएको छ । क्वीन्टल, क्वीन्टलमा आउने सुनको नेक्सस यो राज्यको गृहमन्त्री र अर्थमन्त्रीको अन्डरमा कर्मचारी खटाइएको छ, सेलेक्ट गरेर पठाइएका सयौंका संख्यामा कर्मचारीहरु छन् । यस्तो चिज क्रस गरेर आउने कुरा, त्यो पनि २२औं पटक भन्ने अहिले आइरहेको छ । ११ महिनामा पाँच सय ८६ केजी त पक्राउ नै परेको देखियो,’– शर्माले भने ।

अहिले गृहमन्त्रालय र अर्थमन्त्रालय अन्तर्गतका कर्मचारीहरुको इन्भल्वमेन्टमा सुन तस्करी भएको हो भन्ने प्रष्ट रहेको उनको दाबी छ । सांसद शर्माले त्यसको चिफले म थिईन अथवा यो सेटिङभित्र म छैन भनिरहँदा आम पब्लिकले पत्याउन सक्ने आधारहरु नरहेको बताए ।

अर्थमन्त्री र गृहमन्त्रीले सुन तस्करीको सञ्जाललाई सहयोग गरेको उनको आरोप छ । उनीहरुले अलिकति नैतिकता बचाउने हो भने राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने उनको भनाई छ ।

‘अर्थमन्त्री र गृहमन्त्रीले सुन तस्करीको सञ्जाललाई सहयोग गरेर सुन त प्रधानमन्त्रीको मातहतमा रहेको राजश्व अनुसन्धानले पक्रेको हो । आजको नेपालको अर्थमन्त्री र गृहमन्त्रीले त्यो पदमा बस्ने नैतिक हैसियत गुमाईसके,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्