Logo

रमेश खरेलको दाबीः ‘गिरिजादेखि वामदेवसम्म सुन तस्करीमा कोही अछुतो छैनन्’



काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले सेटिङ विना विमानस्थलबाट सुन तस्करी असम्भव रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गिरिजादेखि एमाले, वामदेव गौतमसम्मले सुन तस्करीलाई संरक्षण गरेको बताए ।

‘पञ्चायत कालमा पनि हुन्थ्यो सेटिङमा सुन तस्कारी । दरबारले गराउँथ्यो । प्रजातन्त्र आयो, प्रजातन्त्र आएपछि पनि पार्टी चलाउनका लागि गिरिजाबाबुले सुन तस्करी गराउन भन्ने आशयले खुमबहादुर खड्का लगायतलाई निर्देशन दिनुभयो । सुन तस्करी सुरु भयो । त्यसपछि कन्टिन्यु एमालेको पालामा पनि, बामदेव गौतमको बारेमा यहाँलाई थाहा छँदैछ । यस्तो सुन तस्करी सेटिङविना कसैको ग्रिनसिग्नल विना हुँदैन । जब सेटिङ पूरा हुन्छ, सबैले ओके भनेर ग्रिनसिग्नल भएपछिमात्र मान्छेले सुन तस्कर गर्छ,’–उनले भने ।

तस्करहरुको ग्रपबीचमै विवादको अवस्था आउँदा अहिलेको सुन तस्करीको काण्ड पर्दाफास भएको उनको अनुमान छ । सोही ग्रुपभित्रकै मान्छेबाट राजश्व अनुसन्धान विभागलाई सूतना गएको हुनसक्ने उनले बताए ।

‘यिनीहरुको ग्रुपमा एकआपसमा केहीमा विवाद भयो । विवाद भएपछि त्यही ग्रुपको भित्रको मान्छेले राजश्व अनुसन्धानलाई इन्फरमेसन दियो । त्यो अनुसार यो पक्रिएको हो । यसमा त्यही गु्रपभित्र विभेद भयो भने उनीहरुले नै इन्फरमेसन दिन्छन् । त्यसरी नै भएको हुनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्