काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मको कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मान्न नहुने बताएका छन् । आज (मंगलबार) ४१औं विपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणलाई केन्द्रीय समितिबाट तत्तकाल निलम्वन गर्न आवश्यक रहेको बताएका हुन् । गत साउन २ गतेदेखि चलेको पार्टी केन्द्रीय समिति बैठकले खाँणलाई कारबाही गर्ने एजेण्डा नै नउठाएकातर्फ लक्षित गर्दै उनले केन्द्रीय सदस्यहरुले दुःख र कर्मको भेद छुट्याउन नसकेको टिप्पणी गरे ।
‘दुःख र कर्म फरक हो । दुःख कर्मको भेद छुट्याउन जान्नुपर्छ । केन्द्रीय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छु्ट्उनु भएन । राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मको कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिँदैन । त्यो कर्म हो । जतिपनि व्यक्ति आज भ्रष्टाचारको प्रकरणमा मुछिएका छन् भने निष्पक्ष छानविन भएर कारबाही हुने हो कि नहुने हो टुंगो लागोस् । हामी आग्रह गर्छौं,’– उनले भने ।
उनले खाँण नेपाली कांग्रेसभित्रको आदरनिय नेता भएको बताए । खाँणलाई आफूहरुले पनि सम्मान गर्ने गरेको उनको भनाई छ । तर, पार्टीले राज्यको जिम्मेवारीमा पठाउँदा कसैले गलत काम गरेको खण्डमा उ सजायको भागिदार हुन कर लाग्ने उनको भनाई छ । विपी कोइरालाले भान्छामा दुई भारी दाउराको विल बढी आउँदा पनि छानविन गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसले सुशासनलाई आफ्नो मूल मन्त्र बनाउन आवश्यक रहेको उनले बताए ।
‘राज्यको जिम्मेवारीमा जाँदा गलत काम गर्नुभएको छ भने राज्यले उहाँलाई कारबाही गर्नैपर्छ । निलम्वन भनेको कारबाहीलाई सहज गर्नका निम्ति जिम्मेवारीबाट आफूलाई अलग राख्ने हो । विपी कोइरालाले आफ्नो भान्छामा दुई भारी दाउरा बढी बाल्दा दुईभारी दाउराको विल कसरी आयो भनेर छानविन गर्ने पार्टी हो यो । विपी कोइरालाको आफ्नो सहोदर भाईले नयाँ जुत्ता लगाउँदा कहाँबाट नयाँ जुत्ता किन्यौं तिम्रो तलब आएको छैन भनेर आफ्नै पिएबाट निकालेको पार्टी हो यो,’– उनले भने । Photo By: Mukunda Kalikote/RN