Logo

‘सुन तस्करी अब गृहमन्त्रीको नैतिकताको विषयमात्रै रहेन, उहाँ अनुसन्धानको घेरामा हुनुपर्छ’



काठमाडौं, ११ साउन । नेकपा(एमाले) नेता एवं राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भन्सार कार्यालय र प्रहरी प्रशासनको सुरक्षा संयन्त्र छलेर बाहिरिएको सुन पक्राउ पर्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले ताउरमाउर गरेको टिप्पणी गरेका छन् । आज (बिहीबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताविना सम्भव नै नरहेको दाबी गरे ।

‘भन्सार कार्यालय र त्यसभित्रका सम्पूर्ण प्रक्रिया छिचोलेर आएपछि सुन पक्राउ परेको छ । यो सरकारका गृहमन्त्रीले के–के न गरेँ भनेर उहाँ ताउरमाउर गरिरहनु भएको छ । यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताविना हुन सक्ला र ?’– उनले भने ।

उनले सुन तस्करी प्रकरण अब गृहमन्त्रीको नैतिकताको विषयमात्रै नभएको बताए । गृहमन्त्री श्रेष्ठ पनि अब अनुसन्धानको घेरामा रहनु पर्ने उनको माग छ । संवेदनशील विषयमा तस्करीलाई संरक्षण गर्ने सरकारले छानविन गर्नसक्नै अवस्था नरहेको बताउँदै उनले सुन तस्करी छानविनका लागि राष्ट्रिय सभाको सहभागितासहित उच्चस्तरीय छानविन समिति बनाउन माग गरे ।

‘यो विषय अब नैतिकताको विषयमात्रै रहेन । हामीले यो अब नैतिकताको विषय भनेर उठाउन लागिरहेका छैनौं । यो त तीन गते राजीनामा भएदेखि नैतिकताको विषय हुन्थ्यो । मैले सुरक्षालाई व्यवस्थित गर्न सकिँन भनेर उहाँले राजीनामा दिएको भए हुन्थ्यो । अब गृहमन्त्री, अर्थमन्त्री लगायत विमानस्थलको सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सम्पूर्ण संयन्त्र अनुसन्धानको घेरामा आएको छ भन्ने मलाई लागेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्