काठमाडौं, १५ साउन । लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न बौद्ध धर्ममार्गीहरुले सरकारको ध्यानाकाषर्ण गराएका छन् ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन् । लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ ।
कार्यक्रमलाई सम्बोधन गर्दैै तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौंलाख बुद्धका शिष्यहरु हुँदापनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए ।
‘हामी शान्तिका अग्रदूतका अनुयायी हुँदाहुँदै पनि, हामी लाखौंलाख बुद्धका शिष्य यहाँ रहँदापनि त्यहाँ आफ्नो पकेटका व्यक्तिहरु त्यहाँ नियुक्ति गरिरहँदा, कर्मचारी भर्ती गरिरहँदा शान्तिमय क्षेत्रलाई विवादमा तानिएको छ,’– उनले भने ।
कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बु्द्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनको माग छ ।
लुम्बिनी विकास कोषको पदाधिकारी अथवा कर्मचारी नियुक्ति गर्दा संघ संस्थाको सल्लाह सुझावसहित नियुक्ति गरिनु पर्ने उनको माग छ ।
हिजोका दिनमा राज्यलाई बदनाम गरेका र मुद्दा चलेका व्यक्तिहरु नियुक्तिको खण्डमा सिंगो बौद्धमार्गीहरुलाई लुम्बिनीमा उर्ताने उनको चेतावनी छ ।
नेपाल बौद्ध महासंघका पूर्व सदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासङ तोक्बा लामाले राजनीतिक दलका शीर्ष नेताहरुले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाएको आरोप लगाए । उनले राजनीतिक दलहरु आफन्त भर्ति गर्ने, आफन्तलाई बचाउने, अर्कोलाई सिध्याउने, गरिवलाई थिच्ने लगायतका काममा नै रमाइरहेको बताए ।
लुम्बिनी विकास कोषमा स्वच्छ मन र छवि भएका व्यक्ति नियुक्त गरिनुपर्ने उनको माग छ । लुम्बिनी विश्वले चिनेको ठाउँ भएको बताउँदै उनले उक्त संस्थाका प्रमुख व्यक्तिको चरित्र स्वच्छ र निश्पक्ष हुन आवश्यक रहेको उनको भनाई छ । आफ्नो स्वार्थ पुरा गर्नका लागि देशमा धार्मिक द्वन्द्वको सुरुवात नगराउन पनि उनले सरकारलाई चेतावनी दिए ।
कार्यक्रमको सञ्चालन सानु पूर्वाछानेले गरेका थिए । उनले स्वच्छ र निष्पक्ष छवि भएका धर्म गुरुलाई लुम्बिनी विकासको उपाध्यक्षमा नियुक्त नगरिए आफूले पनि आन्दोलनलाई साथ दिने प्रतिवद्धता व्यक्त गरे ।