काठमाडौं, १९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डका पीडितहरुलाई वार्ताको लागि बोलाएका छन् । पछिल्लो एक हप्तादेखि गौर हत्याकाण्ड पीडित संघर्ष समिति आन्दोलित थियो । पीडितहरुले रौतटहको चपुरमा शान्तिपूर्ण धर्ना जारी राखेको आज ७औं दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्राचार गरी वार्ताको लागि आह्वान गरेको हो ।
प्रधानमन्त्री दाहालले नै पीडितहरुको आन्दोलनप्रति चासो राखेको, र वार्ता तथा सम्वादमा आउन आह्वान गरेका हुन् । पीडितहरुलाई भोलि (शनिबार) विहान ८ बजे वार्ताको लागि बोलाईएको समितिले जनाएको छ । पीडितहरुले १७ वर्षअघिको विभत्स गौर हत्याकाण्डको लागि न्याय माग्दा राज्यले कुनै सुनुवाई नगरेको र मुख्य दोषीलाई जोगाउन लागिपरेको आरोप लगाउँदै आएका छन् ।
उनीहरुले रौतहटका सिडिओलाई दोषीमाथि कारबाहीको माग राखी ज्ञापनपत्रसमेत बुझाईसकेका छन् । समितिले आन्दोलन तथा धर्ना कार्यक्रम संघीय राजधानी काठमाडौं केन्द्रित गर्ने चेतावनी दिएको भोलिपल्टै आज (शुक्रबार) प्रधानमन्त्री दाहालले चासो राखेर वार्ताको लागि आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीको नाममा प्रेषित वार्ता आह्वान पत्रमा संघर्ष समितिको आन्दोलनप्रति प्रधानमन्त्रीको ध्यानाकार्षण भएको उल्लेख छ । समितिलाई आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिई वार्ता सम्वादमा आउन आह्वान गरिएको छ ।