महेन्द्रनगर, २२ साउन । चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो ।
सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए । “एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको एकिन भएको छ, दुई जनाबारे आशंका मात्रै गरिएको छ”, कुरा गर्दै उनले भने–“खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुुकुरसमेत परिचालन गरेको छ ।”
दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै बरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तिव्ररुपमा भइरहेको जानकारी दिए। लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ ।
बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेका बरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जिविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरु सबै जुम्ला घर भएकाहरु रहेको दूतावासले जनाएको छ । रासस