काठमाडौं, २४ साउन । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रदेश सांसद मनीषकुमार सुमनले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको मूल्यांकन गर्ने बेला नभएको बताएका छन् ।
‘हो, मधेस प्रदेशमा ६-७ वर्षदेखि जसपाले नेतृत्व गरिरहेको छ । त्यसैले प्रादेशिक व्यवस्थालाई नरुचाउनेले पानी नपरेको दोष पनि मुख्यमन्त्रीलाई लगाए । प्रदेश सरकार अधिकारसम्पन्न छैनन्, प्रदेश सरकार केन्द्रिकृत शासनमै छन् । मुख्यमन्त्री सरोज यादवको मूल्यांकन गर्ने बेला भएको छैन । तर आशाको संकेत छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता सुमनले नेकपा एमाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मात्र नभएर अदालतलाई नै विश्वास नगर्ने पार्टी भएको आरोप लगाए । उनले भने, ‘हामीले विगतमा बनेका उच्चस्तरीय छानबिन आयोग वा समितिहरुको प्रतिवेदन देखेका छैनौं र ? ती सबै आलमारीको शोभा र कीराको खान्कीमात्र भएका छन् । एमाले सीआईबी मात्र नभएर अदालतलाई नै विश्वास नगर्ने पार्टी हो ।’
साथै उनले सरकारले हिजो गौर घटनाका पीडितका नाममा गरेको पाँचबुँदे सहमतिप्रति आपत्ति प्रकट गरेका छन् । उनले भने, ‘त्यो घटना निन्दनीय हो । तर १७ वर्षसम्म कुनै निकायले छानबिन गर्न नसक्नु र कुनै पार्टीको उक्साहटमा प्रदर्शन गर्दैमा गलत जाहेरी दिएर नियतवश घटनामा हुँदै नभएको र जिल्लामै नभएका निर्दोष नेताहरुलाई फसाउन खोज्नु आपत्तिजनक छ ।’