Logo

‘यस्तो आतंककारी गृहमन्त्रीले एक सेकेन्ड सत्तामा बस्न मिल्दैन, प्रधानमन्त्री गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ’ : सुनिल शर्मा (भिडिओसहित)



काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रिहा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका हुन् । थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि राजीनामा मागेका छन् ।

उनले प्रधानमन्त्री पुष्कमल दाहालको भूमिकालाई लिएर पनि आलोचना गरेका छन् । उनले भने,‘त्यति सारो बैगुनी पनि हुनु हुँदैन । नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि उहाँ जंगलमा हुनुहुन्थ्यो । पहिलो वार्ता गराउने मान्छे हामी हो । हामीले लगाएको गुनको पैँचो हतकडी लगाएर दिनुभएको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । पावरको उन्माद हो यो ।’

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग एक सेकेण्ड पनि पदमा बस्ने अधिकार नभएको भन्दै राजीनामा मागे । उनले गृहमन्त्रीलाई नहटाए अहिलेको सरकार ढल्ने पनि चेतावनी दिएका छन् । उनले भने,‘यस्तो आतंककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेन्ड सत्तामा बस्न मिल्दैन । प्रधानमन्त्री यदि गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ ।’

शर्मा माओवादी केन्द्रसँग नै आक्रोशित बने । उनले कांग्रेसले माओवादीसँगको गठबन्धन नै तोड्नुपर्ने धारणा राखे । आफूले अब त्यसको लागि पहल गर्ने उनको संकेत थियो । उनले भने,‘यसरी नै गृहमन्त्रीले एक बाइ एक गरेर हाम्रा नेतालाई धुलो चटाउँदै जाने र हाम्रो पार्टी अलाइन्स गरिरहने हो भने पार्टी सकिन्छ । तत्काल पुनर्विचार गर्नुपर्छ ।’

उनले आफूलाई रिहा गर्नको लागि एमालेले खेलेको भूमिकाको भने प्रशंसा गरे । उनले नेताहरु शेखर कोइराला, गगन थापासँगै केपी ओलीको नाम लिएर जिन्दावादको नारासमेत लगाए । तस्विर : अरुण कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्