Logo

अब सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुनेछैनन्ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्रमा कार्यरत झण्डै ४० देखि ५० लाख श्रमिक र मजदुरहरुलाई सहभागी गराउने योजना रहेको बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै सामाजिक सुरक्षा योजना श्रमिक र मजदुरहरुलाई सहभागी गराउने कार्य महत्वपूर्ण र ऐतिहासिक भएको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

‘आजको दिनलाई श्रमिक अधिकार स्थापनको एउटा महत्वपूर्ण र ऐतिहासिक दिनको रुपमा हामी सबैले लिने छौ भन्ने मैले विश्वास गरेको छ । यो योजना अन्तर्गत अनौपचारिक क्षेत्रका झण्डै ४० देखि ५० लाख श्रमिक र मजदुरहरुलाई कार्यक्रममा क्रमश सहभागी गराइने छ,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले देशमा धेरै लामो संघर्ष र निकै ठूलो त्याग, बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपनि श्रमिकहरुका बारेमा राज्यले गम्भीरतापूर्वक लिन नसकेको बताए ।

‘संविधानमा नेपाल समाजवाद उन्मुख राज्य हुने छ भन्ने व्यवस्था पनि गरियो । तर, गएको अवधिमा समाजवाद उन्मुख राज्य बनाउनका निम्ति राज्यका तर्फबाट गम्भीरताको साथ लिइनुपर्ने थियो ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ त्यसमा कही न कही गति अवरोध भएको हामीले महसुश गरेकै हो । अहिले सामाजिक सुरक्षा केवल सामान्य अवधारणमात्रै होईन हाम्रा लागि ।’

सामाजिक सुरक्षा अभियान समाजवादको महत्वपूर्ण आधारमा भएको उनले बताए । उत्पीडित र अन्यायमा परेका श्रमिकहरुका लागि यो महत्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डले बताए । कोष श्रमिकहरुको भरोसाको आधार भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

अनौपचारिक क्षेत्र खास गरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्न र शारीरिक अशक्तता भएको खण्डमा आँशु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतिमा यो अभियानले गुणात्मक फड्को हान्ने र ब्रेक थ्रू गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास रहेको छ । नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्