Logo

सुन तस्करी प्रकरणः छोराको बचाउमा बोले ईश्वर



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा नियोजित रुपमा आफ्नो परिवारको सदस्यको नाम जोडेको भन्दै आपत्ति जनाएका छन् ।

माओवादी उपमहासचिवको लगानी रहेको मिडियाले सुन तस्करी प्रकरणमा एमालेलाई जोडेर बदनाम गराउने प्रपञ्च गरेको उनको आरोप छ । सुन तस्करी प्रकरणलाई अन्तै मोड्न लागिएको पनि उनले आरोप लगाएका छन् ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनिया मूलका बेल्जियम नागरिक दावा छिरिङको व्यपारिक कनेक्सन ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र राम बहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापासँग रहेको मिडियाहरुमा समाचार आएपनि ईश्वर पोखरेल छोराको बचाउनमा उत्रिएका हुन् ।

समाजिक सञ्जालमा उनले लेखेका छन्ः

माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु । माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो । म चुनौतीका साथ भन्न चाहन्छु ( मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु । यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु ।



प्रतिक्रिया दिनुहोस्