Logo

पार्टीको कार्यक्रममा अध्यक्षको फोटो राख्ने निर्णयप्रति रावलको आपत्ति, देवत्वकरण गर्न खोजिएको आरोप



काठमाडौं, २ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले पार्टीको कार्यक्रममा अध्यक्षको मात्रै फोटो राख्ने निर्णय व्यवहारिक नभएको बताएका छन् । कुनै पनि ठाउँमा कार्यक्रम गर्दा त्यहाँका सहिद, विशिष्ट योगदान दिएका व्यक्ति लगायतको फोटो पनि राख्न सकिने र उनीहरुको पनि सम्मान गर्न पर्ने उनले बताए ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले सम्मान भन्ने कुरा कसैलाई देउ भनेर माग्ने वस्तु् नभएको बताए । उक्त निर्णयले कसैलाई देवत्वकरण गरेको उनको आरोप छ ।

‘पार्टीमा जब कुनै व्यक्ति प्रमुख नेताको रुपमा रहन्छ । त्यो प्रमुख नेताको रुपमा मान्छेलाई तिमी सम्मान गर्दैउ, तिमी तस्बिर राख्देउ भनिरहनुपर्ने विषय होजस्तो मलाई लाग्दैन । सम्मान भनेको कुनै निर्णयबाट मान्छेको मनमा सिर्जना हुँदैन ।’ उनले भने, ‘सम्मान भनेको निज व्यक्तिले गर्ने क्रियाकलाप र खेलेको भूमिकाबाट स्वतः समाजमा उत्पन्न हुने कुरा हो । कुनै व्यक्तिलाई देवत्वकरण गरेर अरु नेतृत्व अरु व्यक्तिहरु सँगको संघर्षलाई तीब्र बनाईदिने । यस्तो खाल्को प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा देखा परेको थियो ।’

गत सोमबार बसेको एमालेको सचिवालय बैठकले पार्टीको कार्यक्रममा अध्यक्षको फोटो अनिवार्य राख्ने निर्णय गरेको थियो । सचिवालय बैठक पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अपानीमा ‘पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने’ भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्