Logo

एमालेले चलाउँ भने संसद् चल्छ, रोक भनेपछि रोकिन्छः सूर्य थापा



काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले एक सय क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद् नचल्ने बताएका छन् । गृहमन्त्री र प्रधानमन्त्रीले आफ्ना मान्छे जोगाउनका सिआईबीमार्फत नै उक्त प्रकरणको छानविन गराउन चाहेको उनको भनाई छ ।

‘एमालेले संसद् चल भनेपछि चल्छ, एमालेले संसद् रोक भनेपछि रोकिन्छ । एमालेले जनताका विषय वस्तुमाथि छलफल गरिराखेको छ । आकस्मिक समय प्रर्याप्त छलफलका निम्ति प्रयोग भएको छ,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनलाई बन्धक बनाएको बताए । ‘संसद् नचलाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ । म भन्दै छु, यो संसद् चल्न नदिने र हलो अड्काएर गोरु चुट्न खोज्ने चाहिँ प्रचण्ड’,– उनले भने, उहाँ नेतृत्वको सरकार । एक क्वीन्टल सुन सिनामंगलमा ट्याक्सी चढेर सवार भइरहेको थियो । यो सामन्य घटना हो ? यसको छानविनको माग गर्नु कुनै विषय नै होईन ? छानविन गर्नै नपर्ने विषय हो ?’

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) गृहमन्त्री नारायणकाजी श्रेष्ठको सलामी र गुलामी गर्ने निकायका रुपमा बदनाम भइरहेको उनको आरोप छ । ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेश कार्यान्वयन गराउने सन्दर्भमा सिआईबीले नारायणकाजीको आदेश विना ठाडो शीर लगाएर हेर्न पनि नसकेको उनको टिप्पणी छ । सिआईबीले आहिले नारायणकाजीको आदेश अनुसार मान्छे समाउने र अनुसन्धान गर्ने गरेको उनको आरोप छ ।

‘सिआईबी अहिले नारायणकाजी श्रेष्ठको हवल्दारी निकायका रुपमा, उहाँलाई सलामी र गुलामी गर्ने निकायका रुपमा बदनाम भयो । सिआईबीले केही राम्रो काम गरेन । सर्वोच्च अदालतले आदेश गर्यो, ललिता निवास प्रकरणमा संलग्न माथिल्लो तहका मान्छेहरु पनि छानविनको दायरामा ल्याउ । सिआईबीले ठाडो शीर लाएर हेर्न सक्यो ?’ प्रश्न गर्दै उनले भने, ‘नारायणकाजीले जो जसलाई बयान लेउ भन्यो बयान लिइराखेको छ, जो जसलाई रोक भन्यो, रोकेको छ । त्यसमा बेला–बेला डाइरेक्टरको भूमिका पुष्पकमल दाहालले पनि निर्वाह गरिरहनु भएको छ ।’ File Photo/RN

 



प्रतिक्रिया दिनुहोस्