Logo

सधैं नारा-जुलुस मात्र हुने ठाउँलाई संसद् होइन, सडक भन्नुपर्छ : बार अध्यक्ष घिमिरे



काठमाडौं, ५ भदौ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको शाख गिरेका बेला त्यसको सुधार गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् ।
‘न्यायपालिकामा विकृति र विसंगति भयो भनेर प्रधानन्यायाधीशमाथि महाभियोग नै लाग्यो । न्यायालयको शाख गिरेको अवस्थामा नयाँ प्रधानन्यायाधीश आउनुभएको छ । उहाँको व्यक्तित्व समन्वयकारी भएकाले सुरुवातमै शंका गर्ने अवस्था छैन । बिचौलियाविहीन नयायालय बनाउन उहाँले स्टेक होल्डरलाई साथमा लिएर हिँड्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
अध्यक्ष घिमिरेले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको कार्यकालमा न्यायालय सुधारको कदम महत्त्वपूर्ण हुने औंल्याए । उनले भने, ‘विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल एक वर्षभन्दा लामो छ । त्यो न्यायिक सुधारका लागि महत्त्वपूर्ण हुन सक्छ । न्यायालयलाई भ्रष्टाचारको दलदलबाट निकाल्नका लागि हामीले बेनिफिट अफ डाउट दिएका छौं । न्यायालयको सुधारमा नेपाल बारको सदैव साथ रहन्छ ।’
साथै उनले खल्तीबाट मान्छे निकालेर न्यायालय भर्ने काम गरिए स्वीकार्य नहुने चेतावनी पनि दिए । घिमिरेले थपे, ‘न्यायालयमा १०० जनाभन्दा बढी न्यायाधीश खाली छ । सर्वोच्चमा ७ न्यायाधीश खाली छ । हाई कोर्टमा ५० पद खाली छ । कतिपय उच्च अदालतमा त न्यायाधीश नै छैनन् । न्यायपरिषद् कामै गर्न नसक्ने संस्था भएको छ । न्यायाधीश नियुक्तिमा पारदर्शिता आवश्यक छ ।’
अर्को प्रसंगमा घिमिरेले कोसी प्रदेशमा सत्तामा बस्नै दिन्नँ वा मै जानुपर्छ भन्ने परिपाटीले समस्या आएको पनि बताए । उनले हिजो मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत ठिक वा बेठिक आफूले अदालतमा मुद्दा परे अदालतमै भन्ने पनि जिकिर गरे । साथै उनले संसद् खुलाउने पहल स्वागतयोग्य भएको पनि बताए । घिमिरेले थपे, ‘सधैं नाराजुलुस मात्र भयो भने त त्यो सडक हुन्छ, संसद् हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्