काठमाडौं, भदौ ९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरिने बताएका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाए । ‘गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ,’ उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पर्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखापरे सहजीकरण गर्न सरकार तयार रहेको बताए । भेटमा सङ्घका कार्यकारी अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तिका लागि मार्गप्रशस्त गरिदिन हुन अनुरोध गरेका थिए ।
नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झन्झटिलो हुने भएकाले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । अध्यक्ष केसीले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता दिइने व्यवस्था मिलाउन र नागरिकताको ढाँचा अन्य नेपालीले पाउने नागरिकताजस्तै बनाई प्रमाणपत्रको किसिममा ‘गैरआवासीय’ लेख्दा उपयुक्त हुने सुझाव दिए ।
सङ्घले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको थियो । सरकारले विदेशमा बस्ने नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्थाअनुरूप ऐन जारी गरे पनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माणकै चरणमा रहेकोले त्यसमा सङ्घले आफ्ना सुझाव पेश गरेको हो ।