काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी नेकपा एमालेभन्दा फरक हो भन्ने औचित्य पुष्टि गर्न बाँकी रहेको बताएका छन् ।
‘हाम्रो पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा निकै लामो बहस भएका छन् । पार्टी एकताबद्ध हुँदै गएमा संगठनको विकास र विस्तारमा नयाँ सम्भावना देखिन्छन् । विद्रोह अनिवार्य थियो, भयो । एमालेबाट विद्रोह गर्दाको औचित्य वैचारिक, राजनीतिक, सैद्धान्तिक, दार्शनिक, संगठनात्मक रुपले पुष्टि हुँदैछ, हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पार्टी जबज (जनताको बहुदलीय जनवाद) को ह्याङओभरबाट मुक्त हुनुपर्ने पनि उनले औंल्याए । खनालले भने, ‘अब यो पार्टी कम्युनिस्ट आन्दोलनका केन्द्रका रुपमा स्थापित हुन्छ । तर त्यसका लागि नेकपा एमालेसँग आधारभूत रुपमा फरक देखाउन बाँकी छ । हाम्रो बाटो जबज हो कि समाजवाद हो ? केन्द्रीय कमिटीमा बोलेका १३१ केन्द्रीय सदस्यमध्ये ८० प्रतिशत जबजको ह्याङओभरबाट मुक्त हौ र समाजवादको बाटो दृढतापूर्वक अघि बढौं भनेका छन् ।’
बाहिर झलनाथ खनाल एमाले फर्कन लागेको चर्चा पनि छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘हाम्रो पार्टी कसरी अघि बढ्नुपर्छ ? के गर्दा पार्टी बलियो हुन्छ ? मैले केन्द्रीय कमिटीमा बैठकमा १६ पेजको दस्तावेज पेस गरेको छु । तर त्यो फरक मत होइन । त्यो कुरालाई केन्द्रीय कमिटीले पनि आत्मसात् गरेको छ । त्यसो भएपछि पार्टी छाड्ने कुरै भएन ।’
नेतृत्वका लागि माधव नेपाल र तपाईंबीच हानथाप देखिँदैन भन्ने प्रश्नमा नेता खनालले भने, ‘पार्टी एकताबद्ध भइसकेपछि नेतृत्व समस्या नै होइन । नेतृत्व भनेको फस्ट एमंग दी एक्वेल मात्र हो । नेता निर्माण गर्न समस्या हुँदैन । अग्रगति र प्रगतिका निम्ति हामी एकजुट हुनैपर्छ ।’
साथै नेता खनालले गठबन्धन सरकारप्रति असन्तुष्टि पनि प्रकट गरे । उनले थपे, ‘सरकार संविधानको संरक्षण गर्ने भन्छ, आफैं उल्लंघन गर्छ । रेशम चौधरीको केसमा जनताले चित्त बुझाएका छैनन् । कोसी प्रदेशमा दुई-दुई पटक त्यस्तो भयो । भ्रष्टाचारको अनुसन्धानमा पनि शंका छ । नीति कार्यक्रम पनि गतिलो भएन । बजेटमा पनि प्रगतिशील कुरा छैन । यस्तो सरकारलाई कसरी बोक्ने ?’