काठमाडौं, १० भदौ । धरानमा सामाजिक सद्भाव बिथोलिएपछि स्थानीय सरकारका प्रतिनिधिको भूमिकामाथि विभिन्न प्रश्न उठेका छन् । नेपालजस्तो बहुजातीय, बहुधार्मिक अनि विविधता भएको मुलुकमा सामुदायिक सद्भाव कायम राख्न जनप्रतिनिधिको भूमिका अहं हुने देखिएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघका संस्थापक अध्यक्ष होमनारायण श्रेष्ठ पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि लिएर प्रधानमन्त्रीसम्म जिम्मेवार बन्नुपर्ने औंल्याउँछन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग श्रेष्ठले भने, ‘कोरोना महामारीका बेला जनताको सबभन्दा नजिकको सरकारका रुपमा स्थानीय तहले संकट मोचन गराएको सर्वविदितै छ । समाजलाई संयमित बनाउनुपर्नेमा भित्रभित्रै उचाल्ने र बाहिर वक्तव्यमार्फत एक लाइनमा सामाजिक सद्भाव आह्वान गर्नु गलत हो । यसले हिंसालाई नै मलजल गरिरहेको छ ।’
समाजमा महाविपत्ति र विभाजन ल्याउन विगतको ‘प्रचण्डपथ डक्ट्रिन’ ले काम गरेको आरोप पनि उनले लगाए । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘मिलेर बसेको नेपाली समाजलाई प्रचण्डपथले नेवार बाहुल्य भएको ठाउँमा जाँदा नेवाः, तामाङ बाहुल्य भएको ठाउँमा पुग्दा तामसालिङ भन्दै जातजातमा विभाजन गर् यो । समयक्रममा हराउँदै गएको त्यो विचारले फेरि मुन्टो उठाउन थालेको हो कि भन्ने आशंका छ ।’
धरानका मेयर हर्क साम्पाङ छाडा भएकै हुन् त भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘जतिसुकै बुद्धि र क्षमता भएका मानिस भए पनि सल्लाह गर्ने मान्छे चाहिन्छ । त्यसैले विज्ञ राख्ने चलन चलेको हो । तर त्यसको नाममा आसेपासे र पारिवारिक राख्ने प्रवृत्ति देखियो । घर चलाउनेलाई त स्वच्छन्द हुने छुट छैन भने पालिका, वडा चलाउनेले पाइलापाइलामा विचार विमर्श गरेर अघि बढ्नुपर्छ ।’