Logo

नदीजन्य पदार्थ चोरी गर्ने समूहको आक्रमणबाट नगरप्रहरी गम्भीर घाइते



काठमाडौं, १९ भदौ  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट नगरप्रहरी गम्भीर घाइते भएका छन् ।
अवैध ढुङ्गा गिटी चोरी नियन्त्रणका लागि गए राति गिरुवारी खोलामा ड्युटीमा खटिएकी नगरप्रहरी जवान यममाया मल्ललाई तस्करले ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
“हुप्सेकोट–४ स्थित गिरुवारी खोलामा खटिएका चार नगर प्रहरीलाई देख्नासाथ तस्करले आक्रमण गरेका थिए”, उनले भने,“आक्रमणमा परी अर्का नगर प्रहरी सुजन महतो पनि घाइते भएका छन् । उनले टाउकोमा हेल्मेट लगाएकाले गम्भीर चोट लाग्न पाएन । ”
घाइते मल्ललाई उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएकोमा उपचार हुन नसकेपछि जहाजमार्फत न्यूरो अस्पताल काठमाडौँ लगिएको छ । नगर प्रहरीलाई आक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताए ।
“आक्रमणमा सामेल एक जना फरार छन्, खोजी कार्य जारी छ”, उनले भने । हुप्सेकोट गाउँपालिकाले गत जेठदेखि यममाया मल्लसहित सात जनालाई नगर प्रहरी नियुक्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्