Logo

राष्ट्रपति पौडेल आज दिउँसो कृष्ण मन्दिर जाने



काठमाडौं, भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिरको राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परानुसार आज दिउँसो उनी पाटन जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । मल्लकालीन सो मन्दिरमा पहिले राजाले दर्शन गर्दै आएका थिए । गणतन्त्रको स्थापनापछि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले दर्शन गर्दै आएका छन् ।

सत्रौँ शताब्दीमा कृष्णभक्त राजाका रुपमा चिनिएका राजा सिद्धिनरसिंह मल्लले सो मन्दिर निर्माण गराएका थिए । उनले कृष्णका लीलामा आधारित कात्तिक नाचको सञ्चालन गराएको र कृष्ण मन्दिर निर्माण गराएको पाइन्छ ।

पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिरका कारण लगनखेल, मङ्गलबजार, गाबहाल, सुन्धारालगायतका स्थानमा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकष्णको पूजा आराधना गरी मनाइरहेको छ । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कृष्ण मन्दिरमा रातिदेखि भगवान श्रीकष्णको पूजा आराधना गर्न आउने श्रद्धालु भक्तजनको भिड लागेको छ ।



प्रतिक्रिया दिनुहोस्