काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेतामाथि उठाएको प्रश्नको गम्भीर रुपमा अनुसन्धान हुने बताएका छन् ।
आज (बिहीबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्तक कुराकानी गर्दै उनले उक्त आरोपमाथि पार्टीले निर्मम ढंगले छानविन गर्ने र आरोप प्रमाणित भए कारबाही पनि गर्ने बताएका हुन् । उनले मोहनजंग थापामाथि पार्टीभित्र अनुसन्धान भइरहेको पनि बताए ।
रास्वपाबाट निष्काशित सांसद ढाकाकुमारले आफूलाई मन्त्री बन्न तीन करोड रुपैयाँ पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मागिएको बताएका थिए । रास्वपाले यसअघि नै कुनै पनि पार्टी पदाधिकारीले पैसा मागेको प्रमाण भए र उक्त तथ्य पुष्टि भए जोसुकैलाई पनि ७२ घण्टाभित्र कारबाही गर्ने बताइसकेको छ ।
ढाकाकुमारले भने रास्वपाको कोर टिममा सभापति रवि लामिछाने, सभापति लामिछानकी धर्मपत्नी निकिता पौडेल र मोहनजंग थापा रहेको बताएका थिए ।