Logo

‘संसद्‌मा आजैबाट नेम्वाङको अभाव खड्किसक्यो,त्यो अभाव पूरा गर्न निकै लामो समय कुर्नुपर्छ’



काठमाडौं,२८ भदौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, एमाले संसदीय दलका उपनेता स्व. सुवासचन्द्र नेम्वाङको अभावको महसुस भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रतिनिधिसभा बैठकमा स्व.नेम्वाङको अभाव आजैको बैठकबाट सुरु भइसकेको बताएका हुन् ।

उनले नेपाली राजनीतिले उनको अभावको क्षतिपूर्ति गर्न लामो समय कुर्नुपर्ने बताए । नेम्वाङ राजनीतिलाई निष्टा र संस्कृतिका साथ अगाडि बढाउनुपर्छ भन्ने वकालत गर्ने पात्र भएको उनको भनाइ छ ।

उनले भने,‘उहाँ नेपालको राजनीतिलाई एउटा निष्ठा र संस्कृतिका साथ अगाडि बढाउने त्यसप्रकारको सदैव वकालत गर्ने एउटा पात्र हुनुहुन्थ्यो । उहाँको अभावको महसुस आजैबाट सुरु भइसक्यो । नेपालको राजनीतिले यो क्षतिपूर्ति गर्नका लागि निकै लामो समय कुर्नुपर्छ’ ।

त्याग, निष्ठा, लगनशीलता, सहनशीलता र धैर्यताका साथ असहजतालाई पार लगाउनुपर्छ भन्ने नेम्वाङको मान्यता रहेको उनले बताए ।

७१ वर्षिय नेम्वाङको गत मंगलबार निधन भएको थियो । उनको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्