Logo

देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्छौं : चिकित्सक संघ अध्यक्ष



काठमाडौं, २९ भदौ । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिलविक्रम कार्कीले हेटौंडाका चिकित्सकमाथि आक्रमण गर्ने सबैलाई कारबाही नगरे भोलिदेखि देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
‘हेटौंडामा बिरामीको मृत्युपछि सन्चो अस्पतालका दुई डाक्टरमाथि कुटपिट भएको छ । हामीले सबै दोषीलाई कानुनी कारबाही गर्न ७२ घन्टाको अल्टिमेटम दिएका छौं । प्रधानमन्त्रीले कारबाही हुन्छ भन्नुभएको छ । तर प्रहरीले मृतकको परिवारका चार जनालाई मात्र समातेको छ । आक्रमणकारी २०-२५ जना सबैलाई पक्राउ गर्नुपर्छ भन्ने हाम्रो माग छ । भोलिसम्म सबै आक्रमणकारीलाई पक्राउ नगरे देशभरिका सबै अस्पतालमा आकस्मिक बाहेक सबै ठप्प पार्नुपर्ने अवस्था आउँछ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
७८ जना चिकित्सक सामूहिक राजीनामा किन आयो भन्ने प्रश्नमा डाक्टर कार्कीले भने, ‘चार जनालाई समाते जस्तो गरिएको छ । प्रहरीकै अगाडि अन्य चिकित्सकलाई जाहेरी दिए काट्छु भनेर धम्की दिइएको छ । आक्रमणकारी हेटौंडामा खुलेआम हिँडिरहेका छन् । प्रहरीको काम खोरमा जाक्ने हो कि छलफल गर्ने ? कारबाहीका नाममा दुई-चार जना समात्ने, छाड्ने अनि सेलाउने गर्दा फेरि अर्को आक्रमण भइरहेको छ ।’
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०७९ (संशोधित) अनुसार कारबाही गर्नुपर्नेमा अध्यक्ष कार्कीले जोड दिए । उनले भने, ‘यो कानुन आएको १० वर्ष पुग्न लागिसक्यो । अहिलेसम्म एउटा मात्र मुद्दा अदालतमा पुगेको छ । त्यो पनि फैसला भएको छैन ।  प्रहरी यसबारे ज्ञानै छैन भन्छ । कुनै नागरिकले ज्ञान छैन भन्न पाउँछ ? प्रहरी प्रशासन मूकदर्शक बन्दा देशभरिका चिकित्सक आतंकित छन् । किन हामी नेपाल बस्ने ? पिटाइ खान पढेको ? दुर्व्यवहार झेल्न पेशा गरेको ? राज्यले सम्बोधन गर्नु पर्दैन ?’
चिकित्सक वा स्वास्थ्यकर्मी कसैबाट त्रुटि, कमजोरी र लापरबाही भए कारबाही गर्ने मेडिकल काउन्सिल, नर्सिङ, फार्मेसी काउन्सिल आदि सरकारी निकाय रहेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘बिरामीलाई राम्रो होस् भनेर उपचार गर्ने हो । सबैलाई बचाउन सक्ने हो भने त डाक्टर त मर्दै नमर्नुपर्ने हो नि । कसैबाट त्रुटि, कमजोरी र लापरबाही भएको छ भने नर्सिङ, फार्मेसी, मेडिकल काउन्सिल छन् नि कारबाही गर्ने निकाय ।’
देशभरिका चिकित्सक आन्दोलित भइसकेको पनि उनले बताए । डाक्टर कार्कीले भने, ‘आन्दोलन त सुरु भइसक्यो । जिल्ला जिल्लाका साथीहरुले आकस्मिकबाहेकका सबै सेवा बन्द गरिसकेका छन् । दोषीमाथि कानुनी कारबाही नगरे हामी कडा आन्दोलन गर्छौं ।’ जटिल बिरामीलाई मर्कामा पर्छ भनेर इमर्जेन्सी सेवा बन्द नगरिने पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्