काठमाडौं, ९ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नर्सहरुले न्युनतम पारिश्रमिक पनि पाउने वातावरण नबनेको बताएका छन् ।
आज (मंगलबार) नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निजी अस्पतालहरुले नर्सलाई मासिक आठ/दश हजार रुपैयाँमा काम लगाउने गरेको बताएका हुन् ।
नर्सहरुले उचित अवसर नपाउँदा विदेश पलायन हुने क्रम बढिरहेको उनले बताए । उनले राज्यले युवाहरुलाई देशमै रहन दिने वातावरण नै नबनाएको बताए ।
‘यहाँ नर्सिङ कलेजहरु बन्द भएका छन् । आज बिहानमात्रै मैले नर्सिङ पास गरेको छ, अलिदिन काम पाउन पर्यो भन्दैछन् । यहाँ कतिमा काम गर्छन् भन्दाखेरी सात, आठ हजार १० हजारमा काम गर्छन् यहाँ प्राइभेट क्षेत्रमा । बाहिर गयो भने पाँच लाख पाउँछन्, अनि अप्लाई गर्दैनन् ?’ प्रश्न गर्दै उनले भने, ‘अनि हामी भन्छौं युवा बाहिर गए । हामी यहाँ रहनै दिँदैनौं भने कसरी बस्छन् त ? हामी यहाँ मेडिकल कजेल खोल्नै दिँदैनौं भने कसरी बस्छन् त ?’