Logo

उपराष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना



काठमाडौं, असोज ११ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताएका छन् ।

इन्द्रजात्रा पर्व, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, दीर्घायु, समृद्धि र सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले भनेका छन, “हाम्रा चाडपर्व, उत्सव, महोत्सव आदिले मुलुकमा शान्ति र प्रगति एवं पारिवारिक सुख, दीर्घायु तथा सु–स्वास्थ्यको कामना गर्नु मूल मर्म, ध्येय र सकारात्मक सन्देश बोकेका छन् ।”

विविधतामा एकताको सन्देश सञ्चार गर्ने धार्मिक जात्रा र पर्व भूगोल, क्षेत्र र समुदायअनुसार मनाउने चलन, परम्परा, विधि–विधान र अनुष्ठान फरक–फरक भए पनि सबैको सारतत्व एवं उद्देश्य समाज र देशमा धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मित्रवत्, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नुपर्ने उनको भनाइ छ ।

कुमारी इन्द्रजात्रा नामले प्रसिद्ध यो पर्वमा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजा–अर्चना गर्ने परम्परा र संस्कृति परापूर्वकालदेखि रहिआएको छ ।

इन्द्रजात्राका अवसरमा ठड्याउने लिङ्गो (ध्वजा) र विश्वमै अनौठो चलन जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो । नेवाः समुदायले येँयाः भनेर पनि मनाउने इन्द्रजात्रा काठमाडौँ उपत्यकालगायत नेपालको विभिन्न भूभागमा धुमधामका साथ मनाउने प्रचलन छ ।



प्रतिक्रिया दिनुहोस्