Logo

ह्याम्स अस्पतालद्वारा एकै वर्षमा डेढ अर्बको कारोबार



काठमाडौं, असोज ११। हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्‍याम्स) ले नौ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।

धुम्बाराहीमा रहेको ह्‍याम्स हस्पिटलले सन् २०२२/२३ को ९ महिनामा १ अर्ब १ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। यो अवधिमा हस्पिटलको अपरेटिङ प्रोफिट मार्जिन २९ प्रतिशत रहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। संचालन नाफा मार्जिन बढ्नुमा फार्मेसी र प्याथोलोजी सेग्मेन्टको योगदान रहेको छ।

अघिल्लो वर्ष २०२१/२२ मा हस्पिटलले १ अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो। हस्पिटलले २०२०/२१ मा १ अर्ब ४३ करोड ८० लाख, २०१९/२० मा ६८ करोड र २०१८/१९ मा ३७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।

कोरोना महामारीको क्रममा अस्पतालको अकुपेन्सी राम्रो रहेकोमा पछिल्ला वर्षहरुमा भने केही घट्दै गएको देखिन्छ। सन् २०२२/२३ मा अकुपेन्सी जम्मा ४७ प्रतिशत छ। जबकि २०२०/२१ मा ६४ प्रतिशत थियो। यो समयमा कोरोना महामारी व्याप्त थियो।

ह्‍याम्स ८७ करोड ३७ लाख रुपैयाँको रेटिङ गराएको छ। ८५ करोड ३७ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल ट्रिपल बी माइनस र २ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एथ्री रेटिङ पाएको छ।

ह्‍याम्सले सरकारबाट एक सय शय्याको अस्पताल संचालनको अनुमति पाएको छ। कम्पनीको अध्यक्ष रामशरण भण्डारी हुन्।



प्रतिक्रिया दिनुहोस्