काठकाडौं, १४ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले नेपालगञ्जमा भएको सातौं राष्ट्रिय महाधिवेशनले चयन गरेको नेतृत्व नै आधिकारिक भएको बताएको छ । आज (आईतबार) नेशनल प्याब्सनका महासचिव पारसमणि दाहालले केही व्यक्तिहरुले आधा–आधा कार्यकालमा सहमति भएको भन्दै हिजो अनुपम फुड ल्याण्डमा पदभार ग्रहण गरेको विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् ।
नेपालगञ्जमा भएको सातौं राष्ट्रिय महाधिवेशनले चयन गरेको नेतृत्व नै तीन वर्षे कार्यकालका लागि भएको बताएका छन् । सातौं राष्ट्रिय महाधिवेशनमा आधा–आधा कार्यकालका लागि सहमति भएको भन्दै अनुपम फुडल्याण्डमा आयोजित एक कार्यक्रममा सह– अध्यक्ष सुवास न्यौपानेले अध्यक्षको पदवहाली गरेका थिए । तर, नेशनल प्याब्सन केन्द्रीय समितिले अध्यक्ष पाण्डव हमाललाई बाहेक अरुलाई मान्न नसकिने बताएको छ ।
‘राष्ट्रिय महाधिवेशन भइरहेको अवस्थामा केही पूर्व अध्यक्ष लगायतका केही व्यक्तिहरूले अध्यक्ष र सह–अध्यक्ष पदमा आधा–आधा कार्यकाल गर्ने गरी सहमति गरिएको भनि व्यापक प्रचार प्रसार गरिँदै आएकोमा सोही सहमतिलाई आधार मान्दै हिजो मिति २०८०/०६/ १३ गते काठमाडौंको अनुपम फुडल्याण्डमा केही व्यक्तिहरूको भेला बोलाई पदभार ग्रहण गरेको नाटक मञ्चन गरिएको छ,’– विज्ञप्तिमा भनिएको छ ।
हिजो गरिएको स्वघोषित अध्यक्षता विधान विपरित र गैह्र कानूनी रहेको नेशनल प्याब्सनले बताएको छ । एशोसीएसनको केन्द्रीय कार्यालयमा हिजो अन्दाजी राति ७ बजेको समयमा हुलहुज्जतसहित जबरजस्ती कार्यालयभित्र प्रवेश गरेको भन्दै केन्द्रीय समितिले भत्सर्ना गरेको छ ।
नेशनले प्याब्सनले सदस्य विद्यालय, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमाल नै रहेको जानकारी गराएको छ ।