Logo

जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न मानव अधिकार तथा शान्ति समाजको माग



काठमाडौं,१५ असोज । आज अक्टोबर २ अर्थात अन्तर्राष्ट्रिय अहिंसा दिवस । सन् २००७ को जुन महिनामा संयुक्त राष्ट्र संघको महासभाले अजको दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउने निर्णय गरेसँगै हरेक वर्ष २ अक्टोबरमा विभिन्न कार्यक्रम गरेर विश्वभर नै यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका छन् भने अछाम शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार हो भन्दै शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने सरकारी निर्णय शीघ्र खारेज गर्नसमेत माग गर्दै प्रदर्शन गरेको छ ।

२०५२ सालको फागुन १ गतेबाट तत्कालीन माओवादीले १० वर्ष लामो सशस्त्र क्रान्ति गरेको थियो । जसको परिणामस्वरुप नेपालमा २४० वर्ष लामो राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएको थियो । भने, जनयुद्धका क्रममा राज्य पक्ष र विद्रोहीगरी झण्डै १७ हजार जनालाई ज्यान गुमाएका थिए । माओवादीको उक्त क्रान्तिलाई कतिपयले जनयुद्धको रुपमा परिभाषित गर्ने गरेका छन् । भने राजतन्त्र पक्षधरले हिंसाको राजनीति गरेको आरोप लगाउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्