काठमाडौं, १५ असोज । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले परीक्षमा अनुत्तीर्ण व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् ।
आज (सोमबार) प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले अनुत्तीर्णलाई जिल्ला न्यायाधीश नियुक्त गरेर न्याय प्रणालीको विश्वासमाथि कुठराघात गरेको टिप्पणी गरेका हुन् ।
न्यायाधीश नियुक्तिमा संविधान उल्लङ्घन भएको उनको दाबी छ । ‘न्यायाधीश नियुक्तिमा जब हामी संविधान कार्यान्वयन गर्न सक्दैनौँ भने माननीयज्यूहरु तपाईँहरू के हेरेर बसिराख्नु भएको छ ?’ भन्दै उनले समितिमा प्रश्नसमेत गरे ।
सरकारले परीक्षामा अयोग्य सावित भएको र अनुत्तीर्ण व्यक्तिलाई जिल्ला अदालतको न्यायाधीश बनाएर न्याय प्रणालीमाथि मानिसको भरोषा र विश्वासमा आँच आउने काम गरेको उनको भनाई छ ।