काठमाडौं,१६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्ने जिम्मा राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशी सरकारबारे उपयुक्त समयमा पार्टीका पदाधिकारीहरुसँग परामर्श गरी अध्यक्षले टुंग्याउने निर्णय गरेको हो ।
भदौ २२ गते सर्वोच्चको परमादेशले मुख्यमन्त्री बनेका कार्कीले यहि असोज २० गतेसम्म विश्वासको मत लिईसक्नु पर्ने संवैधानिक संकट रहेको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । ९३ सदस्यीय प्रदेश सभामा अहिलेकै अवस्थामा कार्कीले विश्वासको मत नपाउने निश्चित छ ।
अघिल्लो कार्यकालमा कार्की नेतृत्वको सरकारमा सहभागी भएपनि राप्रपा अहिलेको सरकारमा सहभागी भएको छैन । राप्रपा अहिले पर्ख र हेरको अवस्थामा रहेको राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौंला बताउँछन् ।
तर, एमाले नेताहरु भने राप्रपाले विश्वासको मत दिनेमा ढुक्क रहेको बताउँने गरेका छन् । राप्रपाले एमालेसँगै मिलेर संघ र प्रदेशको निर्वाचनमा भाग लिएको थियो । एमालेसँगको चुनावी तालमेलकै कारण अघिल्लो प्रतिनिधि सभामा १ सिटमा खुम्चिएको राप्रपाले योपटक १४ सिटसहित संसद्को पाँचौ शक्तिको रुपमा उदाएको छ भने । राप्रपाका अध्यक्ष लिङ्देनले पनि दोस्रोपटक झापा-३ बाट नेपाली कांग्रेसका भेट्रान नेता कृष्णप्रसाद सिटौलालाई भारी मतले पराजित गरेका थिए । राप्रपा र एमालेको त्यहि चुनावी तालमेलकै कारण यी दुई दल सिद्धान्तत फरक फरक धारका भएपनि एक अर्काप्रति निकै नम्र देखिने गरेका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट असोज १९ वा २० गतेमध्येमा एक दिन विश्वासको मत लिने तयारी गरेका छन् ।कार्कीले विश्वासको मत नपाएका सरकार उपधारा ५ अनुसार बन्नेछ । उपधारा ५ अनुसार बन्ने सरकारले पनि विश्वासको मत नपाए । प्रदेश सरकार विघटन हुनेछ । र नयाँ मध्यावधिमा जानेछ ।